कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै सामीका कार्यक्रम अधिकृत शिवचरण रौंनियार । (तस्बिर : उज्यालो अभियान)
हरिवन, २१ फागुन – वैदेशिक रोजगारीका सिलसिलामा खाडी सहित अन्य मुलुकहरुमा जाने महिलाको सूचीमा मधेश प्रदेशबाट सर्लाही सबैभन्दा अग्रस्थानमा देखिएको छ । मधेश प्रदेशका ८ वटा जिल्लाहरु मध्ये सर्लाहीबाट सबैभन्दा बढी महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको तथ्यांकबाट देखिएको हो ।
सोमबार बिहान हरिवन नगरपालिकाको सभाहलमा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा सर्लाहीबाट मात्र वैदेशिक रोेजगारीमा जानका लागि एक हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो सख्या मधेश प्रदेशका अन्य सातवटा जिल्लाभन्दा निकै नै बढी हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट भने तीन हजार ६२३ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।
सामीका कार्यक्रम अधिकृत शिवचरण रौंनियारले प्रस्तुत गरेको तथ्यांक अनुसार बाराबाट ७९१, रौतहटबाट ३९९, महोत्तरीबाट २९५ जना महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै धनुषाबाट २६८, पर्साबाट २६५, सप्तरीबाट २४८ र सिराहाबाट २२९ जना महिलाले श्रम स्वीकृति लिएको रौंनियारले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै पुरुषतर्फ भने सर्लाही चौथो स्थानमा रहेको छ । यहाँबाट २२ हजार ९०७ जनाले श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेश अन्तर्गत पुरुषतर्फ धनुषाबाट सबैभन्दा बढी ३९ हजार ३११ जनाले श्रम स्वीकृति लिएको रौंनियारले बताए ।
त्यसैगरी सिराहाबाट २९ हजार ६९१, महोत्तरीबाट २८ हजार ५७६, सप्तरीबाट २१ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै रौतहटबाट १४ हजार ८९२, बाराबाट १३ हजार ८२२ र पर्साबाट सात हजार ५६६ पुरुषले श्रम स्वीकृति लिएको तथ्यांकमा देखिएको छ ।
यो तथ्यांक सरकारी निकायबाट श्रम स्वीकृति लिएर जानेहरुको मात्र संख्या भएको तथा पर्यटक र विद्यार्थी लगायत अन्य भिसामा जानेहरुको संख्या समेत ठूलो रहेको रौंनियारले जानकारी दिए । रौंनियारका अनुसार गैरकानूनी ढंगले वैदेशिक रोजगारीका लागि भारत भएर जाने नेपालीहरुको संख्या समेत निकै रहेको छ ।
पत्रकार र प्रहरीहरुसँग अन्तरक्रिया लागि आयोजित कार्यक्रममा स्वीस सरकार र नेपाल सरकारको सहयोगमा सामी परियोजना अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका सहित मलंगवा र बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा सूचना केन्द्र नै राखेर वैदेशिक रोजगारीमा जान लागेका, गएका र सम्बन्धित परिवारलाई सूचना प्रदान, सिप तालिम, वितिय साक्षरता, मनोसामाजिक परामर्श र न्यायमा पहुँच लगायत कार्यक्रमहरु भईरहेको सामीकी तारा पोखरेलले जानकारी दिईन् । त्यस्तै विना प्याकुरेल, दुर्गा कुमारी बढुवाल, मन्दिरा चौलागाईं लगायतले कार्यक्रम सामी कार्यक्रम अन्तर्गत हरिवनबाट भईरहेका सेवा प्रवाहका बारेमा जानकारी गराए ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक (सई) भिमराज सुवेदी लगायतले वैदेशिक रोजगारीमा देखिएका समस्या, चुनौती तथा सरोकारवाला निकायले गर्नुपर्ने काम लगायतमा सल्लाह सुझाव सहितको मन्तव्य राखेका थिए ।