लालबन्दी, १४ फागुन – आफ्नो प्रमुख पर्व लदी (नदी) पूजाको अवसरमा सर्लाहीका माझी समुदायले आज लालबन्दीमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेका छन् ।
जिल्लाभरका माझी समुदाय एकैठाउँमा भेला भएर लालबन्दी ५ स्थित घाँसे बाली तथा चरण कार्यालयदेखि दक्षिणतर्फ शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा लालबन्दीस्थित डुमडुमे मन्दिरदेखि कार्यक्रम स्थलसम्म आफ्नो समुदायको भेषभुषामा सहभागी भएर र्याली निकालिएको संघका जिल्ला उपाध्यक्ष राजकुमार कुशवार (माझी) ले जानकारी दिए ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष ललितबहादुर माझीको अध्यक्षता तथा संघका केन्द्रीय महासचिव बबिन्द्र माझीको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं मधेश प्रदेश इन्चार्ज लालबहादुर माझी (मनिष), सिन्धुलीको मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी माझी, लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु), लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापालगायतको आतिथ्यता रहेको थियो ।
पर्वको दिन भोली जिल्लाभरका माझी समुदायले आ–आफ्नो ठाउँमा नदीको पूजा गर्ने कुशवारले बताएका छन् । सर्लाहीमा उत्तरी भेगका लालबन्दी, बागमती, हरिवन, ईश्वरपुर, बरहथवा र हरिपुर नगरपालिकामा माझी समुदायको बसोवास छ ।
नदीमा डुंगा चलाउने पुर्खौली पेशा रहेको माझी समुदायले पुर्खाले पुलपुलेसा तर्दा डुंगा र अन्य सरसामग्रीमा कुनै बाधा नपुगोस् भनी लदी अर्थात् नदीको पूजा गर्ने गरेको परम्परा अनुसार बर्षेनि यो पूजा गर्ने गरेका छन् ।