प्रदर्शनीमा राखिएको सर्लाही नवलपुर निवासी एक किसानले फलाएको हाईब्रीड भाण्टा(बैगन) । (तस्बिर : उज्यालो अभियान)
हरिवन, ०५ माघ – सर्लाहीको हरिवनमा शुक्रबारबाट दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ ।
‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित हरिवन नगरपालिका–११, स्थित सुर्ती विकास खेल मैदानमा हरिवन नगरपालिकाले प्रदर्शनी आयोजना गरेको हो । सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले एक समारोहबीच प्रदर्शनीको उद्घाटन गरे । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) अध्यक्षता रहेको उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश सभा सदस्य जबाहर कुशवाहा, हरिवनकी उपप्रमुख हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, हरिवनका प्रमुख प्रशासकीय अधिकृत देवन्द्र सापकोटा, हरिवन नगरपालिकाका ११ वटै वडाध्यक्ष एवं कार्यपालिका सदस्य, वडासदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय परवानिपुर बारा, कृषि ज्ञान केन्द्र मलंगवा, हेल्भेटास नेपाल, इन्दुशङ्कर चिनी उद्योग र हेफर इन्टरनेशनल लगायत सहयोगी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको कार्यक्रम सञ्चालक हरिवन ८ का वडाध्यक्ष एवं प्रचार प्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए ।
प्रदर्शनी मुल आयोजक समितिका संयोजक एवं हरिवन वडा नं.४ का वडाध्यक्ष केशवराज थापाका अनुसार प्रदर्शनीमा कृषि उपज र दुग्धजन्य पदार्थ एवं कृषि उत्पादनमा उपयोग हुने उपकरण र अैजारहरुका ६० वटा स्टल रहेका छन् । प्रदर्शनी आगामी आईतबारसम्म ३ दिन चल्ने आर्थिक समितिका संयोजक एवं हरिवन ३ का वडाध्यक्ष दिपमान लोप्चनले जानकारी दिए । प्रदर्शनी उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न भेषभुषा तथा भाषाभाषी झल्कने गरि नृत्य समेत प्रस्तुत गरेका थिए ।

