logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा घटना : ११ बुँदे सहमतिपछि आन्दोलन स्थगित


  • उज्यालो अभियान

मलंगवा, २२ पुस – बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनपश्चात सृजित समस्या समाधानका लागि ११ बुँदे सहमती भएको छ ।

जिल्ला प्रशासन कार्यालय मलङ्गवामा आइतबार साँझ अबेर पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको छलफलबाट ११ बुँदे सहमती गरिएको हो । छलफलबाट तीन दिनदेखि सडकमै रहेको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ३० वर्षीय जयशङ्कर साहको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोष्टमार्टमपश्चात आफन्तलाई बुझाउने सहमती भएको छ ।

त्यस्तै, गृह मन्त्रालयद्धारा गठित छानविन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्वन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने, मृतकको परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रको स्नतरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्वन्धमा नगरप्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको सहकार्य एवं छलफलबाट टुङ्गाउने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जयशङ्कर साहको शालिक स्थापना गर्ने सहमती भएको छ ।

त्यसैगरी, उद्योग वाणिज्य सङ्घ बरहथवासहित पाँच दलिय गठवन्धन (कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टी) ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक संचालनका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमती भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छलफलले दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाढि बढाउने, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रियाको लागि सम्वन्धित निकायमा सिफारिस गर्ने, आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधनलगायत सम्पत्तिको क्षतिको मूल्याङ्कन गरी सम्वन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने निर्णय भएको छ ।

मधेश प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, अर्थमन्त्री सन्जय यादव, प्रदेश सभा सदस्य कौशलकिशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख (डीआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सन्जयकुमार यादवसहितको उपस्थितिमा भएको छलफलबाट सहमती भएको हो ।

युवकको मृत्युको घटनालाई लिएर आज पनि दिनभर नै बरहथवा बजार तनावग्रस्त रह्यो । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज मध्यान्ह १२ः४५ बजेदेखि भोली बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले अवस्था सामान्य बनेसँगै कफ्र्यु आदेश पनि हटाइने बताए । उनले गृह मन्त्रालयले गठन गरेको छानविन टोली काठमाडौंबाट हिँडिसकेकाले आज रातिसम्म सर्लाही आएर भोलीबाट घटनाको छानविन सुरु गर्ने जानकारी दिए ।

सरकारले गएको शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको मृत्युको सम्वन्धमा छानविन गर्न गृहमन्त्रालयका सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ भने मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।