हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले क्षयरोगी पत्ता लगाउन समुदायस्तरमै परीक्षण शिविर संचालन गरेको छ ।
उपचारको पहुँचमा नआएका क्षयरोगी अर्थात् टिबीका बिरामी पत्ता लगाएर उपचार सुरु गर्ने उद्देश्यसहित घुम्ती परीक्षण शिविर आयोजना गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । नगर स्वास्थ्य प्रमुख चौधरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, प्रादेशिक अस्पताल मलङ्गवा र बागमती सेवा समाज नेपाल हरिवनसँग समन्वय गरी क्षयरोग निवारण घुम्ती सेवासहितको स्क्रिनिङ्ग क्याम्प राखिएको हो ।
विभिन्न वडाका स्वास्थ्य संस्थामा मङ्सिर ३० गतेसम्म घुम्ती क्याम्प चलाइने छ । हरिवन नगरपालिकामा पहिलो चौमासिकमा ३८ जना क्षयरोगी फेला परेका छन् । छरछिमेकी तथा समुदायमा अपहेलित हुने डरले अझै पनि क्षयरोगका बिरामी उपचारमै आउँदैनन् ।
सुरुमै उपचारमा आउँदा क्षयरोग निको हुने भएपनि रोगले ग्रसित पारेपछि उपचार गर्दा जोखिम हुने भएकाले बेलैमा उपचार गराउन चिकित्सकले आग्रह गरेका छन् । हरिवन नगरपालिकाले आफ्नो पालिकालाई क्षयरोगमुक्त बनाउन केही समयअघि देखिनै ‘टिबी फ्रि पालिका’ अभियान सञ्चालन गरी क्षयरोगीलाई घरमै स्वास्थ्यकर्मी पठाएर नियमित निगरानी गर्ने, बेलैमा औषधिको प्रवन्ध मिलाउनेलगायतका काम गर्दै आइरहेको छ ।
विशेषज्ञ चिकित्सक समेतको उपस्थितिमा सञ्चालित यो क्याम्पबाट घना बस्ती तथा ग्रामीण भेगमा लुकेर रहेका क्षयरोगी सम्पर्कमा आउने आश गरिएको स्वास्थ्य प्रमुख चौधरीले बताए । यसअघि जिल्लाको बसबरिया गाउँपालिकाले मङ्सिर १३ गतेदेखि १६ गतेसम्म यस्तै प्रकारको शिविर सञ्चालन गर्दा १८ जना क्षयरोगी फेला परेका थिए ।