logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘तराई-मधेश कांग्रेसको ब्लड बैंक’-मन्त्री बस्नेत


  • उज्यालो अभियान

शिलालेख अनावरण गरेर अस्पताल भवनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत(सबैभन्दा दायाँ टोपी लगाएका) सँगै खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादव, कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंह लगायत नेताहरु । (तस्बिर : उज्यालो अभियान)

टंकबहादुर क्षेत्री/उज्यालो अभियान

कौडेना, असार १९ – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तराई-मधेश क्षेत्र नेपाली कांग्रेसको ब्लड बैंक भएको बताएका छन् ।

अस्पताल उद्घाटन गर्न जाँदै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव ‘बब्लु’ तथा कांग्रेस पूर्व जिल्ला सभापति लक्ष्मण राय लगायत नेताहरु । (तस्बिर : उज्यालो अभियान)

‘अधिकांश राजनैतिक दलले तराई-मधेश क्षेत्रलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरिरहेका छन्’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेतले भने, ‘तर कांग्रेसका लागि तराई-मधेश क्षेत्र भोट बैंक नभई ‘ब्लड बैंक’ हो ।’ रगत अनि मुटु बिना शरिरको कल्पना गर्न नसकिए जस्तै तराई-मधेश बिना कांग्रेसको कल्पना गर्न नसकिने भन्दै मधेशलाई सबैभन्दा बढी माया गर्ने राजनैतिक दल कांग्रेस नै भएको दाबी गरे ।

अस्पताल उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत । (तस्बिर : उज्यालो अभियान)

छुट्टै प्रसंगमा उनले नेकपा एमाले छेउछाउमा कोही जान नसक्ने काउसो भएको आरोप लगाए । एमाले काउसो भएकाले उसँग अन्य पार्टीको गठबन्धन नहुने दाबी समेत गरे । ‘धेरैले यो सरकार ढालेर कांग्रेस-एमालेको सरकार बन्ने हल्ला चलेको छ’, बस्नेतले ठोकुवा गरे, ‘एमाले छेउमा जानै नसकिने काउसो भएको कुरा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत सबै दलका नेतालाई थाहा छ, त्यसैले यो गठबन्धन टुटेर कांग्रेस–एमालेको सरकार बन्दै बन्दैन ।’ उनले एमाले-माओवादी सहितको गठबन्धन तोडेर वर्तमान सत्ताधारी गठबन्धन निर्माणको सुत्रधार मध्ये आफू पनि रहेको दाबी गर्दै अब अर्को कुनै गठबन्धन नबन्ने ठोकुवा गरे ।

अस्पताल उद्घाटन समारोहमा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादव । (तस्बिर : उज्यालो अभियान)

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिकाद्वारा आफ्नै स्रोतबाट वडा नम्बर २ फूलपरासीमा निर्माण भएको १५ शैय्याको सामुदायिक अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले सीमावर्ती क्षेत्रमा स्थापना भएको यो अस्पतालले यहाँको ग्रामीण भेगका वासिन्दालाई प्रभावकारी ढङ्गले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । अस्पताल सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि मन्त्रालयको साथ, सहयोग रहने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरे । गरिब तथा विपन्न वर्गका लागि प्रत्येक सरकारी तथा निजी अस्पतालमा १० प्रतिसत शैय्या अनिवार्य निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै यहाँ पनि कोही गम्भीर प्रकृतिका बिरामी उपचार नपाएरै बसिरहेको भए आफ्नो सम्पर्कमा ल्याइदिन मन्त्री बस्नेतको आग्रह थियो ।

मंगलबार दिउँसो उद्घाटन गरिएको कौडेना सामुदायिक अस्पताल परिसरमा उपस्थित नेता कार्यकर्ता एवं सर्बसाधारणहरु । (तस्बिर : उज्यालो अभियान)

अस्पतालमा सेवा लिन लाग्नुपर्ने लाइन र त्यहाँ हुने भिडभाडले थप बिरामी पर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालयले उपत्यका तथा मुख्य सहरका अस्पताललाई अनलाईन प्रणालीमार्फत टिकट काट्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यसको आफूले नै प्रत्यक्ष अनुगमन गरिरहेको मन्त्री बस्नेतले दाबी गरे । अस्पतालको सेवा सुविधाबारे आम नागरिकमा अन्यौलता रहेको भन्दै मन्त्री बस्नेतले कुन–कुन अस्पतालले के–के सेवा दिन्छन भनी आ–आफ्नो वेभसाईटमा प्रष्टसँग उल्लेख गर्न निर्देशन दिएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पनि जनताबाट अनुमोदित भएकाले यो गठगन्धन नै कायम रहने बताए । यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको उल्लेख गरे ।

कौडेना सामुदायिक अस्पताल उद्घाटन समारोह स्थलमा नेता कार्यकर्ता चढेर आएका सबारी साधनको लाम (तस्बिर : उज्यालो अभियान)

तराईमा वर्षेनि भूँमिगत पानीको सतह घट्दै गइ खानेपानी तथा सिँचाईको अभाव बढ्दै गएको भन्दै मन्त्री यादवले चुरेको संरक्षण गर्न जरुरी रहेको बताए । उनले अबको पाँच वर्षभित्र सुनकोशी-मरिण डाइभर्सनको काम पूरा हुने र त्यसपश्चात यहाँका किसानले सिँचाईको समस्याबाट मुक्ति पाउने मन्त्री यादवले दावी गरे । त्यस्तै जिल्लाभर खानेपानी लगायतको क्षेत्रको विकास एवं भौतिक पूर्वाधार निर्माणमा आफू लागि परेको उनको जीकिर थियो । मन्त्री यादवले एमाले नेता कार्यकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबाट मुर्रा जातका राँगा मात्र प्राप्त भएको निराधार हल्ला चलाईएपनि उक्त मुर्रा जातका राँगा नेपाल भित्र्याउनका लागि ७ वर्षअघि आफू कृषि मन्त्री भएकै बेलामा पहल सूरु गरिएको र अहिले मात्र प्राप्त भएको दाबी गरे ।

कौडेना गाउँपालिका आफैले फूलपरासीस्थित हुलाकी सडक छेउमा एक करोड ७९ लाख रुपियाँ लागतमा अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष रुपेशकुमार यादवले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले विशेषज्ञ चिकित्सक नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ । आफूले चुनावमा २ वर्षभित्र सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरि सञ्चालनमा ल्याउने प्रतिवद्दता अनुसार काम गरेर देखाएको समेत दाबी गरे । शिक्षा, कृषि लगायत क्षेत्रमा समेत उल्लेख्य विकास निर्माणको काम भईरहेको उनको जीकिर थियो ।

यो अस्पताल सञ्चालनमा आएसँगै जिल्लाको दक्षिण-पश्चिम भेगका वासिन्दालाई प्राथमिक उपचार सेवा पाउन तथा सवारी दुर्घटनाका घाइतेलाई उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ । स्थानीय स्पतरमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध नहुँदा स्थानीय वासिन्दा अहिले सामान्य औषधि उपचारका लागि पनि सदरमुकाम मलंगवा वा सीमापारी भारतीय बजारसम्म धाउन बाध्य भइरहेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देशभरकै पालिकामा एकसाथ पालिका स्तरीय अस्पताल शिलान्यास सहित बजेट पठाएपनि यो अस्पताल भने कौडेना गाउँपालिका आफैले निर्माण गरी सञ्चालनमा आएको हो । यसअघि ईश्वरपुर नगरपालिकाले समेत आफ्नै निर्माणमा नगर अस्पताल सञ्चालनमा ल्याईसकेको छ । अन्य पालिकामा भने संघीय सरकारको बजेट अनुसार पालिका स्तरीय अस्पताल भवनहरु निर्माणाधिन रहेका छन् ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य जंगिलाल राय, प्रदेश सभा सदस्य कौशल किशोर राय, कांग्रेस सर्लाही पूर्व उपसभापति एवं नेता विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कांग्रेस क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि एवं युवा नेता योगराज देवकोटाको सञ्चालन रहेको उद्घाटन समारोह कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कांग्रेस संस्थापन ईतरका नेता कार्यकर्ताहरुको बाहुल्यता रहेपनि कौडेना गाउँपालिका निवासी एवं गापा अध्यक्ष रुपेशका सहोदर काका समेत रहेका कांग्रेस पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत संस्थापन पक्षका अधिकांश नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिती देखिएको थिएन ।