हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५ मा वडा कार्यालयले २७७ जना दीर्घरोगीको निःशुल्क रुपमा स्वास्थ्य बीमा गराइदिएको छ ।
वडाबाट विनियोजन गरिएको २ लाख रुपैयाँ बजेटले जो नियमित रुपमा औषधि सेवन गरिरहेका छन्, उनीहरुको एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क हुने गरी स्वास्थ्य बीमा गराइएको हरिवन ५ का वडाध्यक्ष नागेन्द्रकुमार साहले बताए । आर्थिक अवस्था कमजोर रहेका परिवारलाई यो कार्यक्रमबाट लाभ मिल्ने अपेक्षा गरिएको वडाध्यक्ष साहको भनाई छ ।
कतिपय परिवारमा सुगर, प्रेसरलगायत अन्य दीर्घ रोगी हुँदा औषधि, उपचारकै लागि दैनिक ठूलो रकम खर्च भई ऋणमाथि ऋण थुप्परिरहेको अवस्थामा वडा कार्यालयले ल्याएको यो कार्यक्रमबाट एक जना बिरामी बराबर नेपाल सरकारले तोकेको अस्पतालमा एक लाख रुपैयाँसम्म औषधि, उपचार सुविधा पाउने हरिवन ५ को वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष साहले यो वर्ष २७७ जनाको स्वास्थ्य बीमा गरिएको र आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।