बुधबार मध्यान्ह सुनसान देखिएको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीमा अहिले ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगका बिरामीको निजी अस्पताल र क्लिनिकहरुमा अत्यधिक चाप बढ्दो छ ।
सरकारी अस्पताल र स्वास्थ्य चौकी भने सुनसान देखिन्छन् । निजी क्लिनिकमा घण्टौँसम्म पालो कुरेर उपचार गराउने धेरै हुन्छन् ।
जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका नवलपुर, लालबन्दी, हरिवनलगायत क्षेत्रमा भित्री बस्तीका वासिन्दा ठूलो संख्यामा उपचारका लागि आइरहेका देखिन्छ । प्रत्येक वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि नागरिक भने उपचारका लागि निजी अस्पताल तथा क्लिनिकमै धाइरहेका हुन् ।
नवलपुरस्थित एक क्लिनिकमा ३ महिने छोराको उपचार गर्न आएका ईश्वरपुर नगरपालिका ७ का गोविन्द सोनीले छोराछोरीलाई उपचारका लागि यहीँ लिएर आउने गरेको सुनाए । “यहाँ (निजी क्लिनिक) मा ल्याएपछि ठीक भइहाल्छ, औषधि पनि राम्रो चलाउँछ, “सरकारी अस्पतालतिर त जाने गरेको छैन् ।”
नवलपुरका निजी क्लिनिकमा नवलपुर, हरिवन, हरिपुर, जानकीनगर, बागमती, हरिवन, घुर्कौली, बरहथवा, बयलवास, लालबन्दी, घारिबथान, रानिगन्ज, परवानिपुर, खयरमारालगायत क्षेत्रबाट बालबालिकालाई उपचारका लागि ल्याउनेको भीड हुन्छ । अभिभावक २÷३ घण्टासम्म लाईनमा बसेर बालबालिकाको उपचार गराएका फर्किन्छन् ।
अधिकांश बालबालिका यहाँ उपचार गर्न ल्याएपछि मात्रै रोग ठीक हुने तर्क गर्छन् । यहाँ अधिकांश नागरिकको सरकारी स्वास्थ्य संस्थाप्रति भने विश्वास देखिँदैन् । लालबन्दी नगरपालिका–६, निवासी राजन पोखरेलले सरकारी स्वास्थ्य संस्थाको लथालिङ्ग अवस्था देखेरै बिरामी निजी क्लिनिकमा जाने गरेका बताए ।
पोखरेलले सरकारी स्वास्थ्य संस्थाको सेवा सुधार हुन नसक्दा बिरामीमा अविश्वास रहेको बताए । “लालबन्दीकै हकमा प्राथमिक स्वास्थ्य केन्द्र छ । त्यहाँ एमबीबीएस गरेका चिकित्सक हुनुहुन्छ तर यहाँका अधिकांश उपचार गराउन सामान्य स्वास्थ्यकर्मीले चलाइरहेका क्लिनिकमा गइरहेका छन्,” पोखरेलले उज्यालो अभियानसँग भने “यसो हुनुमा सरकारी अस्पतालले सेवालाई सुधार नगर्नु हो ।”

लालबन्दीस्थित अस्पताल सुनसान हुँदा बुधबार मध्यान्ह नै नवलपुरस्थित एक क्लिनिकमा देखिएको बिरामी र उनीहरुको आफन्तको भीड । (तस्बिर : उज्यालो अभियान)
सरकारी अस्पतालको अवस्था सुधार नहुँदा यस क्षेत्रका सर्वसाधारण निजी अस्पतालमा उपचार गराउन जाँदा ठगिनु परेको पोखरेलको भनाई छ । यहाँका केही निजी क्लिनिकमा दैनिकी एक सय भन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् तर सरकारी स्वास्थ्य चौकीमा भने अत्यन्त न्यून बिरामी पुगेको पाइन्छ ।
स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी प्रायः दिनभरजसो फूसर्दमा हुन्छन् । खोप कार्यक्रम वा कुनै औषधि सेवनको अभियान चल्दाबाहेक स्वास्थ्य चौकी सुनसान देखिन्छ ।
धनकौल गाउँपालिका–१, सेखौनाका स्थानीय युवा दीपेन्द्र यादवले दक्षिणी भेगमा स्वास्थ्य सेवा झनै दयनिय रहेको बताए । “हाईवे (राजमार्ग क्षेत्र) मा त तही ठीकै छ, यता दक्षिणतिर त झनै दयनिय छ,” यादवले भने, “स्वास्थ्य चौकीमा प्रायः कर्मचारी भेटिदैनन्, भेटिए पनि प्राय ः सामान्य औषधि धरी हुँदैन् । यस्तो अवस्थामा नागरिक त निजी क्लिनिकमा जाने नै भए ।”
निजी अस्पताल र क्लिनिकले बिरामीसँग आफू खुसी शुल्क लिने गरेका छन् । यसको स्थानीय तह र सरोकारवाला अन्य निकायबाटै अनुगमन हुन सकेको छैन् ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख एवं प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले भने सरकारी स्वास्थ्य संस्थाका सेवा विस्तारै सुधार हुँदै गएको दावी गर्छन् ।
“प्रादेशिक अस्पताल मलंगवामै पहिले भन्दा अहिले प्रसुतिसहित अन्य सेवा लिन आउनेको चाप बढ्दो छ, पालिकाहरुले पनि आफू मातहतका स्वास्थ्य संस्थाको सेवा, सुविधा सुधार गर्दै लगेका छन्”, स्वास्थ्य कार्यालय प्रमुख डा. झाले भने ।
डाक्टर झाले निजी क्लिनिक र अस्पतालले तुलनात्मक रुपमा राम्रो सेवा दिएकाले त्यहाँ बिरामीको चाप बढी रहेको स्वीकार गर्छन् ।
सर्लाहीमा एमबीबीएस चिकित्सकको दरबन्दी रहेको प्रादेशिक कार्यालय मलंगवासहित लालबन्दी, हरिपुर, जमुनिया र अचलगढमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । केही पालिकाले आफ्नो नगर अस्पतालमा आन्तरिक स्रोतबाट एमबीबीएस चिकित्सक राख्न थालेका छन् ।
यहाँका २० वटै पालिकाले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाइ स्थापना गरे पनि स्वास्थ्य सेवा पु¥याउने प्रयास गरेका छन् तर त्यहाँ जानुको साटो अधिकांश नागरिक बिरामी पर्दा निजी क्लिनिकमै पुगेको देखिन्छ ।