बयलवास – आगामी बैशाखदेखि सर्लाहीको ईश्वरपुरमै मृर्गौला (किड्नी) डायलायसिस हुने भएको छ ।
नगरपालिका कार्यालयले राष्ट्रिय मृर्गौला उपचार केन्द्रसँगको सहकार्यमा बयलवासस्थित नगर अस्पतालमा मृगौला डायलायसिसको व्यवस्था गर्न लागेको हो । केन्द्रका संचालक डाक्टर ऋषिराज काफ्ले बुधबार बयलवास आएर मृर्गौला प्रत्यारोपणको व्यवस्था के कसरी मिलाउन सकिन्छ ? भनी नगर अस्पतालको निरीक्षण समेत गरेका छन् ।
बैशाखदेखि राष्ट्रिय मृर्गौला उपचार केन्द्रका चिकित्सकसहितको टिम आएर यहीँ नियमित बसी, यस क्षेत्रका नागरिकलाई मृर्गौला डायलायसिसको सेवा प्रदान गर्ने ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले उज्यालो अभियानसँग बताए । उनका अनुसार डा. काफ्लेले आवश्यक उपकरणको बन्दोबस्तीसहितको अनुगमन गरेका हुन् ।
बयलवासमै मृर्गौला डायलायसिस हुनेभएपछि यस भेगका वासिन्दा जनकपुर वा वीरगन्जजस्ता शहरका अस्पतालमा महंँगो मूल्य तिरेर जानुपर्ने बाध्यता हट्ने मेयर आचार्यको भनाई छ । डा. काफ्लेलाई मेयर आचार्य, उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरेलगायत भएर नगरपालिकामा स्वागत गरेका छन् ।
नगर अस्पतालको निरीक्षणमा डा. काफ्ले, मेयर आचार्यलगायत । (तस्बीर : उज्यालो अभियान)