टंक बहादुर क्षेत्री/मलंगवा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत समानुपातिकतर्फको मतपरिणाम अनुसार सर्लाहीमा मधेश मुद्धा उठान गर्ने ठूलो शक्तिको रुपमा जनमत पार्टी उदाएको छ । सिके राउत नेतृत्वको जनमतले आफू सहभागि पहिलो संसदीय निर्वाचनबाटै मधेशका ‘मसिहा’ ठान्ने अन्य पूराना मधेशवादी नेताहरुको दललाई उछिनेर मधेशी जनताको मन जित्न सफल भएको छ । मधेश र मधेशी जनताको नारा उराल्दै सत्ताको स्वाद चाख्ने गरेको आरोप लाग्दै आएका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुको पार्टीलाई वेवास्ता गर्दै यसपटकको निर्वाचनमा सर्लाहीका मतदाताले सिके राउतको जनमत पार्टीलाई बढी विश्वास गरेका छन् । २०६४ सालको संविधान सभा निर्वाचन यता हरेक चुनावमा समानुपातिक मतका हिसाबले पालै पालो पहिलो, दोस्रो, तेस्रो वा चौथो शक्तिको रुपमा रहिरहेका मधेशवादी दलहरुलाई २०७९ को निर्वाचनमा भने जनमतले एकाएक पछाडी पारेको छ ।
प्रतिनिधि सभा तर्फ समानुपातिकमा सबैभन्दा बढी कांग्रेसले ४८ हजार ३३७, दोस्रोमा नेकपा माओवादी केन्द्र÷नेसपाले ४५ हजार ६२६ र तेस्रोमा नेकपा एमालेले ३८ हजार ३१३ मत प्राप्त गरेको छ । मधेश र मधेशी जनताको मुद्धा उठाएर राजनीति गरिरहेका महन्थ ठाकुर, राजेन्द्र महतो र महिन्द्र राय यादव जस्ता हस्ति नेताहरुको जिल्ला सर्लाहीबाट यसपटक एकाएक चौथो शक्तिको रुपमा जनमत पार्टीले समानुपातिक मत प्राप्त गरेको छ ।
३७ हजार ९११ मत सहित नयाँ शक्तिको रुपमा जनमत पार्टी चौथो हैसियतमा आईपुगेको हो । २०६२÷०६३ देखि मधेश र मधेशी जनताको वकालत गर्दै सत्ताको स्वाद चाख्ने तर मधेशमा विकास निर्माण तथा मधेशी जनताको उत्थानमा कुनै चासो नदिएको आरोप खेप्दै आएका मधेशवादी नेताहरुको दलप्रति पछिल्लो समय आम मधेशी युवाहरुमा वितृष्णा पैदा भएको जनमत पार्टीले पाएको यो मतले पुष्टी समेत गरेको छ ।
मधेशी जन अधिकार फोरम मार्फत मधेश आन्दोलनको ‘जेहाद’ छेँडेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले ३० हजार ३३५ मत मात्र ल्याएको छ भने सर्लाहीमै लामो समय राजनैतिक थलो बनाएका महन्थ ठाकुर तथा यसपटक सर्लाही २ मा प्रत्यक्ष उम्मेद्वारी दिएका राजेन्द्र महतो लगायतको नेतृत्व रहेको लोकतान्त्रिक समाजवादी पार्टीले २३ हजार ६५८ मत मात्र पाएको छ । जबकी पाँचौ ठूलो दल बनेको जसपाका अध्यक्ष यादव, विजय गच्छदार, जयप्रकाश गुप्ता लगायत नेतृत्वको मधेशी जन अधिकार फोरम नेपालले २०६४ सालको पहिलो संविधान सभा चुनावमै सर्लाहीबाट ३७ हजार १०३ मत प्राप्त गरेको थियो ।
२०६४ मा महन्थ ठाकुर, महिन्द्र राय यादव, शरद सिंह भण्डारी जस्ता नेताहरुले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीले सर्लाहीबाट सबैभन्दा बढी ५८ हजार १८० मत प्राप्त गरेको थियो । २०६४ मा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको ४३ हजार ३१४ मत सहित दोस्रोमा छ ।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी ३४ हजार ३१७ मत ल्याउँदा महिन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले दोस्रो दलको हैसियतमा २८ हजार ५६५ मत प्राप्त गरेको थियो । नेकपा एमाले २७ हजार ८४३ मत सहित तेस्रो बन्दा महन्थ ठाकुर नेतृत्वको तमलोपाको मत चौथो अर्थात २७ हजार १९६ रहेको छ । त्यतिबेला एकीकृत नेकपा माओवादीले २२ हजार २५६ मत ल्याउँदा, उपेन्द्र यादव नेतृत्वको मधेशी जन अधिकार फोरम नेपालले १५ हजार ४२९ तथा विजय गच्छदार नेतृत्वको मधेशी जन अधिकार फोरम लोकतान्त्रिकले ९ हजार ४४२ मत प्राप्त गरेको थियो ।
नेपालको संविधान २०७२ जारी भएपछि भएको २०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभातर्फ महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, शरद सिंह भण्डारी, अनिल झा लगायत नेताहरुको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) ले सर्लाहीबाट सबैभन्दा बढी अर्थात ७२ हजार ५८५ मत पाएको थियो । त्यस्तै कांग्रेसले ६२ हजार ७२१, नेकपा एमालेले ३१ हजार ९१, नेकपा माओवादी केन्द्रले २९ हजार ७६५ र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १६ हजार ६५६ मत प्राप्त गरेको थियो ।
तर यो पटकको निर्वाचनमा लामो समयदेखि मधेशको मुद्धामा राजनीति गर्दै आएका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायत चर्चित मधेशवादी नेताहरुको दललाई उछिन्दै सर्लाहीमा सिके राउतको जनमत पार्टीको उदय भएको छ । केही महिना अघि सम्पन्न स्थानीय तह निर्वाचनमा चर्चा परिचर्चा अनुसार अपेक्षाकृत मत हाँसिल गर्न नसकेको जनमत पार्टीले संसदीय निर्वाचनमा भने मधेशवादी दलहरुलाई ठूलो चुनौती मात्र दिएन, जनमतका अध्यक्ष सिके राउतले मधेशको मुद्धा उठान गरेर समावेशी अनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका मधेशका ‘हस्ती’ उपेन्द्र यादवलाई हराउँदै संसदीय यात्राको ढोका नै बन्द गरिदिएका छन् ।
सर्लाहीमा कुल ४ लाख ७९ हजार ३८ मतदाता मध्ये प्रतिनिधि सभाको समानुपातिकतर्फ ३ लाख ३ हजार ६६२ मत खसेको छ । जसमध्ये १२ हजार ६३४ मत अर्थात ४.१६ प्रतिशत मत बदर भएको छ ।
सर्लाहीमा सबैभन्दा ठूलो दल बन्यो कांग्रेस : कलम भन्दा हरन र घण्टीलाई बढी मत
सर्लाहीको मतपेटिकामा फेला पर्यो ‘सत्तो र सराप’ गरेको एकपाने कागज (हेर्नोस्)