अध्यक्ष हरि बहादुर थापा ।
हरिवन – आप्रवासानको क्षेत्रका क्रियाशिल मुलुकभरका गैर सरकारी संस्थाहरुको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा सर्लाहीका हरि बहादुर थापा चयन भएका छन् ।
हालै भक्तपुरमा सम्पन्न सञ्जालको १४ औं साधारण सभाले सर्लाहीको हरिवन स्थित सहयोगि समाज नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेका थापालाई सञ्जालको अध्यक्षमा चयन गरेको हो । साधारण सभाले थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । हरिवन नगरपालिका–४, पटौना निवासी थापा काठमाडौंमा रहेर वैदेशिक रोजगारमा जानेहरुलाई आईपर्ने समस्या लगायतमा काम गर्दै आईरहेका छन् ।
२०६५ सालमा स्थापित सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकहरूको अधिकारलाई स्थापित गर्न स्थापना कालदेखि निरन्तर रुपमा पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहररूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ । उक्त साधारण सभाले संस्थाको सञ्जाल विस्तार गर्ने, आप्रवासन क्षेत्रमा काम गर्ने संस्थाहररूको दाहोरोपना घटाउन काम गर्ने, तथ्यमा आधारित वकालत गर्ने, सदस्य संस्थाहरूको क्षमता विकास गर्ने, सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य एवं खबरदारी गर्ने जस्ता विषयहरूलाई प्राथमिकताका साथ छलफल गरेको नवनिर्वाचित अध्यक्ष थापाले उज्यालो अभियानसँग बताए ।
सञ्जालमा मुलुकभरका २८ वटा गैर सरकारी संस्थाहरु आवद्ध छन् ।