logo
  • मङ्लबार, चैत्र ६, २०८० / Tuesday, Mar, 19 ,2024

बागमती सेवा समाजले पायो ‘सामी’


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थितहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका चार पालिकामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन हुने भएको छ ।

जिल्लाको मलंगवा, बरहथवा र हरिवन नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । आइतवार साँझ लालबन्दी स्थित नमस्ते होटलको सभाहलमा सम्पन्न एक समारोह बीच कार्यक्रम सञ्चालनका लागि साझेदार संस्था बागमती सेवा समाज नेपाल हरिवन र चार वटै पालिकाबीच सम्झौता भएको छ । सम्झौतामा बागमती सेवा समाजको तर्फबाट कार्यकारी निर्देशक निरज भण्डारी तथा पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतहरुले हस्ताक्षर गरेका थिए ।

नेपाल र स्वीजरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित यस कार्यक्रमले वैदेशिक रोजगारको जोखिमबारे सचेतना फैलाउने, सीप तथा तालिम सिकेर मात्रै वैदेशिक रोजगारमा जान प्रेरित गर्ने, जालसाजी तथा ठगीमा परेकालाई न्याय दिने, अलपत्र परेकालाई उद्धार गर्ने जस्ता सेवा प्रदान गर्ने सामी परियोजनाका प्रदेश २ संयोजक विजय ठाकुरले जानकारी दिए । तीन वर्षका लागि कार्यक्रम तय भएपनि साझेदारी संस्थाले चारै पालिकासँग पहिलो चरणमा गरेको सम्झौता आगामी असार ३१ गतेसम्म लागू हुने र क्रमशः हरेक वर्ष सम्झौता नविकरण हुने बताईएको छ ।

कार्यक्रम अन्तर्गत यसअघि देखि नै मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय र हरिवन र बरहथवा स्थित ईलाका प्रशासन कार्यालय परिसरमा सूचना केन्द्र सञ्चालन हुँदै आईरहेको छ । विगतमा ग्रामीण नारी उत्थान संघ हरिपुर, सहयोगि समाज नेपाल हरिवन, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा गरी तीनवटा गैर सरकारी संस्था मार्फत उक्त कार्यक्रम सञ्चालन हुँदै आको थियो । अब तेस्रो चरणको कार्यक्रम भने क्षेत्र विस्तार सहित एउटै बागमती सेवा समाजले मात्र गर्ने भएको छ ।

मलंगवा नगरपालिकाका प्रमुख निरसल साहको अध्यक्षतामा आयोजित सम्झौता समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी प्रमुख अतिथि थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पराजुली, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, बरहथवा नगरपालिकाकी उपप्रमुख सीतादेवी माझी, चन्द्रनगर गाउँपालिकाकी उपप्रमुख विणादेवी साह, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी सर्लाहीकी उपसभापति भवानी कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विश्वनाथ ठाकुर, बरहथवा, मलंगवा र चन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी र साझेदारी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

error: Content is protected !!