logo
  • बिहिबार, कार्तिक २७, २०८३ / Thursday, Nov, 12 ,2026

हायस दुर्घटनामा १० जनाको मृत्युपछि सुन्दरपुर गाउँमा रुवाबासी


  • उज्यालो अभियान

मलंगवा, २७ कात्तिक – मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीमा बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

मधेशको प्रमुख चाड छठ मनाउन नी काठमाडौँबाट राति नै गाउँ फर्कदै गरेकाहरु बिहानीपख दुर्घटनामा परेका हुन् । काठमाडौँमा फलफूल बेच्नेसहित अन्य व्यापार गर्न बसेकाहरु छठ पर्व मनाउन मधेश प्रदेश ०३-००१ ज ०८८० नम्वरको हायस गाडी रिर्जभ गरेर सर्लाहीस्थित घरतर्फ आउनेक्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाबारे जानकारी पाएपछि आफू घटनास्थलतर्फ गइरहेको गाउँपालिका अध्यक्ष कृष्ण यादवले बताए । मृतकहरुको नामावलीसहितको विस्तृत विवरण खुल्न बाँकी नै रहेको छ ।

दुर्घटनाको समाचार थाहा पाएदेखि नै सदरमुकाम मलङ्गवादेखि करिव ६ किलोमिटर पश्चिमतर्फ पर्ने सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

चक्रघट्टा गाउँपालिका नै निवासी पत्रकार सुनिल ठाकुरले अहिले आफूहरु गाउँमा पुगेको र पूरै रुवावासी चलिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो सूचना जारी गर्दै भीमफेदीको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएका उल्लेख गरेको छ ।

सुन्दरपुर गाउँकै ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादव घाइते छन् ।

काठमाडौँ-कुलेखानी-भीमफेदी सडक भएर सर्लाही आउँदै गरेको हायस सडकबाट करिव ५०० मिटर तल भीरमा खसेको नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

हायस अत्यन्त भिरालो र दुर्गम ठाउँमा दुर्घटनामा परेको हो ।