घारिबथान, २५ कात्तिक – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथान निवासी मिर्गौला पीडित बहादुरे भन्ने वीरबहादुर स्याङतानलाई आर्थिक सहयोग गरिएको छ ।
घारिबथान घर भइ हाल वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेकी सुमी क्षेत्रीले दुवै मिर्गौला (किड्नी) फेल भएका स्याङतानलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी हुन् । क्षेत्रीले जापानबाट पठाइदिएको रकम भाइटीकाको दिन पारेर आज दिउँसो स्याङतानको घरमै पुगेर हस्तान्तरण गरिएको घारिबथानका युवा हेमन्त बुढाथोकीले जानकारी दिए ।
क्षेत्रीकी आमा दुर्गादेवि थापा, श्रीमान राजन बुढाथोकी र गाउँका युवाको उपस्थितिमा मिर्गौला पीडित स्याङतानलाई सहयोग रकम प्रदान गरिएको हो । गाउँकी चेली सुमी क्षेत्रीले टिकटकबाट भएको कमाइको केही अंशबाट मिर्गौला पीडितलाई सहयोग रकम पठाइदिएकाले आफूहरु बिरामीको घरमै पुगेर पैसा हस्तान्तरण गरेको नेकपा एमाले ईश्वरपुर–१२ का अध्यक्ष इश्वर चापागाईले बताए ।
सुमी क्षेत्रीकी आमा तारादेवी थापाले छोरीले एक विपन्न र मिर्गौला फेल भएर थलिएका व्यक्तिलाई सहयोग गरेर मानवताको उदाहरण प्रस्तुत गरेकोप्रति खुसी व्यक्त गरिन्। सुमीका श्रीमान राजन बुढाथोकीले टिकटकबाट भएको आम्दानीबाट श्रीमतीले यस प्रकारको सामाजिक कार्य गर्दै आइरहेको बताए ।

विपन्न वर्गका वीरबहादुरको दुवै मिर्गौला फेल भएर उपचारमै समस्या परेपछि आफूहरुले गाउँमै चन्दा उठाएर तथा देश, विदेशमा रहेका मनकारी व्यक्तिहरुबाट आर्थिक सहयोग सङ्कलन गरेको घारिबथानका युवा मनिष चौहानले जानकारी दिए ।
३८ वर्षीय वीरबहादुरले महोत्तरीको बर्दीवासस्थित एक निजी अस्पतालमा पुगेर नियमित रुपमा मिर्गौला डायलाइसिस गराउँदै आएका छन् ।
नगर अस्पताल ईश्वरपुरसहित अन्य सरकारी अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा एक पटकमा तीन हजार ५०० रुपियाँ भन्दा बढी खर्च गरेर हप्तामा दुई पटक मिर्गौला डायलाइसिस गराउँदै आएको वीरबहादुरले उज्यालो अभियानसँग गुनासो गरे ।