logo
  • बुधबार, कार्तिक ५, २०८३ / Wednesday, Oct, 21 ,2026

चार पालिकामा मुसहर महिला सशक्तिकरण मञ्च गठन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका विभिन्न चारवटा पालिकामा मुसहर महिला सशक्तीकरण मञ्च (डब्लूएमइएफ) गठन गरिएको छ ।

यहाँको बरहथवा नगरपालिका वडा नं. ८, १३ र १४, बसबरिगा गाउँपालिकाको वडा नं. ३, चन्द्रनगर गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ तथा हरिपुर नगरपालिकाको वडा नं. १, ६, ७ र ९ मा उक्त मन्च गठन गरिएको हो । ती वडाहरुमा अन्डेफको सहयोगमा साप–नेपालले स्थानीय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम संचालन गरिरहेको छ ।

सो कार्यक्रम अन्तर्गत चार पालिकाहरुबाट ३० जना मुसहर महिलाहरुले घुम्ती प्रशिक्षकको रुपमा तालिम प्राप्त गरी आ–आफ्नो वडामा गएर मुसहर महिला सशक्तीकरण मञ्च गठन गरेका हुन् । चार पालिकामा ३० वटा मुसहर महिला सशक्तीकरण मञ्च गठन गरी १५ सय मुसहर महिलाहरुलाई पहिलो पटक समूहमा आवद्ध गरिएको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । उनका अनुसार हरेक समूहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह–सचिवसहित ५० जना आवद्ध छन् ।

शिक्षा र राज्यको सेवा सुविधाबाट बञ्चित भइरहेका मुसहर समुदायलाई उनीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारको खोजी गरी सशक्तीकरण गर्ने, स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि गर्ने र विकासका अन्य पात्रहरुसँग समन्वय तथा सहकार्य गर्ने उद्देश्यले मुसहर महिला सशक्तीकरण मन्च गठन गरिएको हो । दलित तथा पिछडिएको समुदाय भएकाले जनप्रतिनिधि र अन्य सरोकारवाला निकायहरुबाट मुसहर समुदायको मुद्दा र माग सम्वोधन नहुने भएकाले मञ्चको माध्यमबाट आफ्ना माग तथा मुद्दाहरुमा पैरवी गर्न सहज हुने नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका जिल्ला अध्यक्ष ऋतुराज ऋषिले बताए ।

मञ्च मार्फत मासिक बचत तथा छलफल एवं बैठक गर्नुका साथै नागरिक अधिकार र कर्तव्यबारे पैरवी गर्ने, सचेतना अभिवृद्धि गर्ने, सामाजिक, राजनीतिक अनि आर्थिक मुद्दाहरुमा पैरवी गर्ने, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण, आयआर्जन लगायतबारे सचेतना अभिवृद्धि गराउने काम पनि हुने जनाइएको छ ।