logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

बालविवाह मुक्त समाज निर्माणका लागि किशोरी क्रिकेटः ईश्वरपुरलाई हराउँदै हरिपुर विजयी


  • उज्यालो अभियान

हरिपुर, ०७ असोज – “पहिले गरौँ पढाई पुरा, अनि मात्र गरौं बिहेको कुरा“ भन्ने नाराका साथ ’बालविवाह मुक्त समाज निर्माण’ गर्ने मूल उद्देश्यले सर्लाहीको हरिपुरमा आयोजित मैत्रीपूर्ण अन्तरपालिका किशोरी क्रिकेट प्रतियोगितामा हरिपुर नगरपालिका विजयी भएको छ ।

हरिपुर–७ स्थित चिताईन खेल मैदानमा सम्पन्न रोमान्चक खेलमा हरिपुर नगरपालिकाले ईश्वरपुर नगरपालिकालाई २९ रनले पराजित गरेको हो । वडा बाल अधिकार समिति, हरिपुर–७ को मुख्य आयोजना तथा सेभ द चिल्ड्रेन र ग्रामीण नारी उत्थान संघ, हरिपुरको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रम हरिपुर र ईश्वरपुर नगरपालिकाको समन्वयमा आयोजना गरिएको ग्रामीण नारी उत्थान संघ, हरिपुरका समुन्नति कार्यक्रम संयोजक दीपक भण्डारीले जानकारी दिए ।

हरिपुर–७ का वडा अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल परियार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगर स्तरीय बाल समूह सन्जाल (हरिपुर र ईश्वरपुर), स्थानीय लक्ष्मीनाथ युवा क्लब, उद्योग वाणिज्य संघ हरिपुर, साना किसान सहकारी लक्ष्मीपुर, पिण्डेश्वरनाथ युवा क्लब तथा श्री जनता प्राथमिक विद्यालय ढापटोल स्रोत विद्यालयका शिक्षक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयोजक हरिपुर नगरपालिकाको सुरुवाती ब्याटरहरू शून्य रनमै आउट भएपछि टोली दबाबमा आएको थियो । तर, मध्यक्रममा सम्हालिँदै हरिपुरकी तोफा खानले ३४ बलमा ३ चौका र ५ छक्काको मद्दतले ४९ रनको विष्फोटक अविजित इनिङ्स खेलिन् ।

ईश्वरपुरका बलरहरूले ६० अतिरिक्त रन (३५ वाइड र २५ नो बल) उपहार दिएपछि हरिपुरले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै ११४ रनको बलियो योगफल तयार गर्यो ।

११५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको ईश्वरपुर नगरपालिका निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर ८५ रनमा समेटियो । ईश्वरपुरका लागि रानीले ८ रन र ताराले अविजित ७ रन जोड्नु बाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । हरिपुरका बलरहरूले कसिलो बलिङ गर्दै ईश्वरपुरलाई दबाबमा राखिन् ।

ब्याटिङमा चम्किएकी तोफा खानले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र ४ रन खर्चेर १ विकेट लिइन् भने सुष्मा भट्टराईले २ विकेट हात पारिन् । ईश्वरपुरले खेलमा ५३ अतिरिक्त रन पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा जित हरिपुरको पोल्टामा गयो।प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी हरिपुरकी तोफा खान (खातुन) ‘प्लेयर अफ द टुर्नामेन्ट’ र ‘उत्कृष्ट ब्याटर’ घोषित भइन् ।

त्यस्तै, हरिपुरकै सुष्मा भट्टराई ‘उत्कृष्ट बलर’ र ईश्वरपुरकी अनुपा खड्का ‘उत्कृष्ट अलराउन्डर’ को अवार्ड हात पार्न सफल भइन् ।

कार्यक्रमका अध्यक्ष एवं हरिपुर–७ का वडा अध्यक्ष मनोज कुमार चौधरीले पालिका स्तरीय किशोरी क्रिकेट आयोजना गर्न पाउँदा बालिकाहरूको सशक्तिकरण र बालविवाह मुक्त अभियानलाई ठूलो सहयोग पुगेको सन्देश प्रवाह भएको बताए । आगामी दिनहरूमा यस्ता सचेतनामूलक अभियानलाई वडा–वडामा पुर्‍याउनुपर्ने आवश्यकता आफूले महसुस गरेको उनले बताए ।

खेलकुदको क्षेत्रमा बालिकाहरूका लागि नयाँ खेलका रूपमा किशोरी क्रिकेटमा लगानी गरी नयाँ अध्यायको सुरुवात गरेकोमा वडा अध्यक्ष चौधरीले ग्रामीण नारी उत्थान संघ र आयोजक टिमलाई विशेष धन्यवाद समेत व्यक्त गरे ।

खेलकुदको माध्यमबाट समाजमा चेतना जगाउँदै बालविवाह जस्तो सामाजिक कुरीति विरुद्ध किशोरीहरूलाई सशक्त बनाउन यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ ।