प्रदेश सांसद् यादवद्वारा मुसैली पोखरी सौन्दर्यकरण कार्यक्रमको अुनगमन

3
मुसैली पोखरीमा भईरहेको कामबारे जानकारी लिँदै प्रदेश सांसद् यादव सहितको टोली । (तस्बिर : उज्यालो अभियान)

मुसैली – प्रदेश सांसद् अशोक कुमार यादवले मुसैली स्थित प्रदेश सरकारको बजेटबाट भईरहेको पोखरी सौन्दर्यकरण कार्यक्रमको अनुगमन निरीक्षण गरेका छन् ।

आफ्नो क्षेत्रका नेता कार्यकर्ता सहित युवाहरुको सहभागितामा प्रदेश सांसद् यादवले पोखरीको सौन्दर्यकरण कार्यक्रम अन्गर्तत भईरहेको विकास निर्माण कार्यको अनुगमन गरेका हुन् । विहिबार दिउँसो यादव नेतृत्वको टोली अनुगमनमा गएको थियो ।

निकै पुरानो र ऐतिहाँसिक मानिने मलंगवा नगरपालिका अन्तर्गत मुसैलीको पोखरी सौन्दर्यकरण अभियानको प्रदेश दुई सरकारका मुख्य मन्त्री लालबाबु राउतले गत असोज ७ गते उद्घाटन गरेका थिए । सयौँ वर्ष पुरानो मुसैलीस्थित पोखरीको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारले ८ करोड रुपैंया बजेट विनियोजन गरेको र अहिले धमाधम काम भईरहेको प्रदेश सांसद् यादवका भाई राजेश यादवले जानकारी दिए । उक्त कार्यक्रम प्रदेश सांसद् यादवकै पहलमा आएको बताईएको छ ।