मलंगवा, ०५ कात्तिक – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको हिजो बुधबार निधन भएको छ ।
ब्रह्मपुरी गाउँपालिका २ घर भएका ८५ वर्षीय साहको काठमाडौँमा निधन भएको हो । अस्वस्थ भएपछि उनी उपचारका लागि काठमाडौँ गएका थिए ।
ब्लड अस्पताल जावालाखेल ललितपुरमा उपचारपछि उनी चिकित्सकको सल्लाहमा घर फर्किने तयारीमा रहेकै बेला हिजो निधन भएको हो ।
उनको बिहान कोठामै निधन भएको छोरा दिलिप साहले उज्यालो अभियानसँग बताए । उनले भने, “बुवा बिहान फ्रेस भएर नै घर फर्कने तयारीमा हुनुहुन्थ्यो ।”
अस्ती मंगलबार हवाइजहाजको टिकट नपाएपछि हिजो फर्कने तयारीमा रहेका गाउँपालिका अध्यक्ष साहको निधन भएको हो । साहको पार्थिव शरीरलाई हिजो नै काठमाडौँबाट घर ल्याएर अन्त्येष्टि गरिएको छ ।
साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो । छोरा दिलित साहका अनुसार गाउँपालिका अध्यक्ष साहको गत जेठदेखि प्लेट रेट पनि घटेको थियो ।
उनीमा केही दिनदेखि ज्वरोसमेत आएको बुझिएको छ ।
साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । साह पुराना राजनीतिज्ञ हुन् ।