बरहथवा, २५ असोज – सर्लाहीको बरहथवामा आज जिल्ला प्रशासन कार्यालयको अगुवाईमा समसामाजिक विषयमा सबै सरोकारवालाबिच अन्तरक्रिया गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षता तथा सर्लाही ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहको प्रमुख आतिथ्यतामा बरहथवा नगरपालिका-११ मा रहेको विशेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्लाको समसामयिक विषयवस्तुमा सर्वसाधारण र सम्वन्धित अधिकारहरुबिच अन्तरक्रियासहित समस्याहरु समाधानका पहलबारे बहस भएका छन् ।
उखु किसानको समस्यादेखि चाडपर्वमा सुरक्षा तयारी, सर्वसाधारणले दैनिक भोग्नु परेका सास्तीलगायत विषयमा अन्तरक्रिया भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अन्तरक्रियामा जिल्लाको विभिन्न पालिकाका प्रमुख, वडाध्यक्षहरु, राजनीतिज्ञ, सामाजिक अगुवा, विद्यार्थी, किसान, संचारकर्मी, स्थानीय वासिन्दालगायतको उपस्थिति रहेको थियो ।