बरहथवा, २३ असोज – जिल्लाको पश्चिमी भेगको मुख्य बजार बरहथवा बजारमा खसीको भनेर पाठीको मासु बिक्री गर्ने गरेको पाइएको छ ।
आम नागरिकले खसीको मासुमा पाठीको मासु मिसाएर बेच्ने गरेको र तौलमा पनि ठगी हुने गरेको गुनासोपछि आज दिउँसो नगर प्रहरीको टोली छड्के अनुगमनमा पुगेको थियो । नगर प्रहरीले दुईवटा जिउँदो पाठी र एउटा काटिसकेको पाठी नियन्त्रणमा लिएको छ ।
बरहथवा नगरपालिकाको नगर प्रहरीका इन्चार्ज एवं नगर प्रहरी सहायक निरीक्षक (असइ) राजेश महतोले पाठी काटेर बेच्दै गरेका मानिस फरार भएका जानकारी दिए ।
माछा, मासु पसलहरुको छड्के अनुगमन गर्दा एक किलो भनेर सात सय/आठसय ग्राम मात्र तौल गरेर ठगी गर्ने गरेको पाइएको छ ।