लालबन्दी, १७ असोज – सर्लाहीमा दुई दिनदेखि बिहानीपखको मौसम धुम्मिने भइरहेको छ ।
बिहानीपख हुस्सु, कुहिरो लागेर धुम्मिने र मध्यान्हपख हुँदा हपक्क गर्मी महसुस हुने गरेको स्थानीयले बताएका छन् । पानी पर्ला जस्तो मौसम हुँदा पाकेको धानबाली काटेर निन सुकाइरहेका किसान त्रासमा छन् ।
मौसम पूर्वानुमान महाशाखाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ । केही किसानले पाकिसकेको धान दशैँअघि नै काटेर भित्र्याउने तयारीमा छन् ।
४ दिन ठुलो पानी परेर रोकिएकाले तत्काल पानी नपर्दे हुन्थ्यो भन्ने आशमा किसान देखिन्छन् । बेलाबेलामा मौसम बदली भइरहेको सर्लाहीमा रातिपख भने विस्तारै चिसो पस्दै गएको छ ।
चिसो र गर्मी दुई प्रकारको मौसम भइरहेको अहिलेको अवस्थामा मानिसमा मौसम परिवर्तनजन्य रुघा, खोकी, ज्वरोलगायतका संक्रमण बढेको चिकित्सकले बताएका छन् ।