लालबन्दी, १७ असोज – सर्लाहीका बजारमा दशैँका लागि खसीबोकाको किनबेच सुरु भएको छ ।
गाउँघरका किसानले दशैँमा बिक्रीका लागि पालेका खसीबोका बेच्नका लागि बजार ल्याउन थालेका हुन् । अब लाग्ने प्रत्येक हाटबजारमा खसीबोकाको किनबेच बढ्ने व्यापारीको भनाइ छ ।
सर्लाहीमा लालबन्दी, बयलवास, हरिवन र बरहथवा गरेर चारवटा बजारमा खसीबोकाको किनबेच हुन्छ ।
दशैँमा खसीबोका बिक्री गरेर किसानले दशैँ खर्च जोहो गर्ने गरेका छन् । चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानका उद्धव थापाले दशैँ दैलोमै आएसँगै खसीबोका बिक्रीका लागि बजार ल्याएको बताए ।
हरेक वर्ष झैँ यो पटक पनि दशैँमा खसीबोका बेचेर नुन, तेल, कपडा, मरमसला जुटाउने किसानको उद्देश्य रहेको थापाले सुनाए ।
खसीबोकाको किनबेच अहिलेदेखि नै बढे पनि सबैभन्दा बढी व्यापार फूलपाती, अष्टमी र नवमीको दिनमा हुने व्यापारीको भनाइ छ । दशैँका लागि खसीबोका खरिद गर्न व्यापारी आफै पनि गाउँगाउँ पुग्न थालेका छन् ।
सर्लाहीको चुरेखोँच तथा सिन्धुलीको मरिण क्षेत्रका किसानले वर्ष दिनभरी पालेका खसीबोका अब दशैँमा बिक्रीका लागि लालबन्दी र हरिवनका बजारमा ल्याउने गर्छन् ।
वर्षात् रोकिएर खोलाबाट ट्याक्टर, जीप, बोलेरोलगायतका गाडी चल्न थालेपछि सर्लाही तथा सिन्धुलीको सीमाक्षेत्र चुरेभेगबाट खसीबोका बिक्रीका लागि महेन्द्र राजमार्गक्षेत्रका बजारसम्म ल्याउन सहज भएको छ ।
लालबन्दी मुख्य बजार क्षेत्रपर्ने लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्कीले दशैँ नजिकिएसँगै बजारमा खसीबोका, कपडालगायतको व्यापार अब बढ्दै जाने जानकारी दिए ।
किसानले लालबन्दी, हरिवन, बयलवास, बरहथवालगायत बजारमा ल्याएर बिक्री गर्ने खसीबोका दशैँका लागि छरछिमेकका विभिन्न जिल्लासहित काठमाडौँ उपत्यकामा समेत लैजाने गरिएको छ ।