logo
  • शनिबार, अशोज १७, २०८३ / Saturday, Oct, 03 ,2026

सर्लाहीका ८ पालिकाको खाता खुल्न सकेन


  • उज्यालो अभियान

0-4064x3074-0-0#

मलंगवा, १६ असोज – आर्थिक वर्ष २०८३/८४ सुरु भएको अढाइ महिना बितिसक्दासमेत सर्लाहीका आठवटा पालिकामा अझै खाता संचालन हुन सकेको छैन् ।

अब दशैँ बिदा सुरु हुन नौँ दिन मात्र बाँकी छ । तत्काल खाता सञ्चालन नभए चाडपर्वमा समेत कर्मचारीको तलब भत्ता निकासा नहुनेदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यसमेत प्रभावित हुने अवस्था देखिन्छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पदमप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसोसम्ममा जिल्लाका २० वटा पालिकामध्ये १२ वटा पालिकाले मात्र खाता सञ्चालनका लागि कागजात बुझाएका छन् । खाता सञ्चालनका लागि बिहीबार हरिपुर्वा नगरपालिकाले अघिल्लो आर्थिक वर्षको हिसाबमिलानसहितको कागजात पेस गरेको छ ।

यसअघि लालबन्दी, हरिवन, बागमती, मलङ्गवा नगरपालिका र बलरा नगरपालिका तथा विष्णु, ब्रह्मपुरी, बसबरिया, धनकौल, रामनगर र कौडेना गाउँपालिकाको खाता सञ्चालनमा आइसकेको प्रमुख कोष नियन्त्रक पौडेलले जानकारी दिए । ईश्वरपुर, हरिपुर, कविलासी, गोडैता र बरहथवा नगरपालिका तथा चक्रघट्टा, पर्सा र चन्द्रनगर गाउँपालिका खाता सञ्चालनका लागि कोलेनिकाको सम्पर्कमा नै आएका छैनन् ।

पालिकाहरुले प्रत्येक नयाँ आर्थिक वर्ष सुरु भएपछि अघिल्लो आर्थिक वर्षको हरहिसाब मिलान, नीति तथा कार्यक्रम र बजेट पारित भएको प्रमाणसहित कोलेनिकामा निवेदन पेस गर्नुपर्ने हुन्छ । प्रमुख कोष नियन्त्रक पौडेलले खाता सञ्चालनका लागि पालिकाहरुले बेवास्ता गरेको देख्दा आश्चर्य लागिरहेको बताए ।

बेलैमा खाता सञ्चालन गरेर काम सुरु गर्न बेवास्ता गर्ने परिपाटी पालिकाहरुमा हट्न नसकेको उनको भनाइ छ । प्रमुख कोष नियन्त्रक पौडेलले भने, “हिसाब मिलान गरेर ल्याउने भन्दा पनि खाता सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने पालिकाहरुको मनासय देखिन्छ, तर कानूनी रुपमा अघिल्लो वर्षको हिसाब मिलान नगरी खाता सञ्चालन गर्नै मिल्दैन् ।”

अघिल्लो वर्षको हरहिसाब नेपाल सरकारको सुत्र प्रणालीमा मिलान गरेर खाता सञ्चालनका लागि आउन पालिकाहरुलाई ताकिता गरिरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले जनाएको छ । खाता खुल्न बाँकी रहेका पालिकाहरुले हिसाब मिलानको काम अन्तिम चरणमा पुगिसकेको दावी गरेका छन् ।

ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम दाहालले पालिकाको खाता सञ्चालनका लागि सोमबार कोलेनिकामा कागजात पेस गरिने दावी गरेका छन् । उनले भने, “नगरप्रमुखको ब्यस्ततालगायत कारणले ढिलाइ भएको हो, अब सोमबार कोलेनिकामा डकुमेन्ट बुझाउने गरी काम गर्दै छौँ ।”

जनप्रतिनिधि र कर्मचारीबिच विवाद रहेको पालिकामा तत्काल खाता सञ्चालन नहुने अवस्था देखिन्छ । सर्लाहीको चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहबिच लामो समयदेखि विवाद चल्दै आएकाले खाता सञ्चालनको प्रक्रिया अघि बढ्नै सकेको छैन् ।

गाउँपालिका अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले निर्देशन अटेरी गर्दा तत्काल खाता खुल्नै नसक्ने अवस्था आएको दुःखेसो पोखेका छन् । जनप्रतिनिधि र कर्मचारीबिच सुमधुर सम्वन्ध रहेका जिल्लाका अन्य केही पालिकाहरुमा पनि खाता सञ्चालनको सुरसार नहुँदा पालिकाको आर्थिक कारोवार अढाइ महिनादेखि ठप्प रहेको छ ।