छलफलमा सहभागी सडक आयोजनाका प्रमुखसहित अन्य महानुभाव । (तस्बीर : मदन नेपाल/उज्यालो अभियान)
मदन नेपाल/लालबन्दी, ३१ भदौ – सर्लाहीको लालबन्दी बजारस्थित महेन्द्र राजमार्गमा पिल्लरसहितको फ्लाई ओभर निर्माण गर्न स्थानीयले दबाब बढाउँदै लगेका छन् ।
सोही क्रममा हिजो उद्योग वाणिज्य संघको सभा हलमा कमला ढल्केबर पथलैया सडक आयोजनाका प्रमुखलाई नै लालबन्दीमा बोलाएर सरोकारवालासँग छलफल गरिएको सडक विस्तार संघर्ष समितिका शालिग्राम लम्सालले जानकारी दिए ।
स्थानीयले पर्खालसहितको ओभरपास निर्माण गर्दा बजार कुरुप हुने, सर्वसाधारणलाई आउजाउ गर्न समस्या पर्ने भएकाले पिल्लरसहितको फ्लाई ओभर बनाउनुपर्ने माग गरेका छन् ।
आफूहरुको मागका सम्वन्धमा सडक आयोजनाका प्रमुखसहितले माथिल्लो निकायमा लेखेर पठाउने प्रतिवद्धता जनाएका नेपाली कांग्रेसका नेता सीताराम दाहालले बताए ।
छलफलमा लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारी, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतोलगायतको उपस्थिति थियो ।
यही माग राख्दै स्थानीयले यसअघि संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधिसँग अन्तरक्रियासहित सडक आयोजनाको कार्यालयमै पुगेर ज्ञापन पत्रसमेत बुझाइसकेका छन् ।