logo
  • आइतवार, अशोज ४, २०८३ / Sunday, Sep, 20 ,2026

उजुरीको ‘फर्मम्याट’ प्रहरी कार्यालयबाट निःशुल्क पाइने


  • उज्यालो अभियान

उजुरीको ‘फर्मम्याट’ छपाई गरेर प्रहरीलाई हस्तान्तरण गर्दै हरिवनका नगरप्रमुख रमेश बुढाथोकी ।

हरिवन, २९ भदौ – सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मलङ्गवामा अब विभिन्न घटनामा उजुरी दिनुपर्दा सेवाग्राहीले लेखापढी व्यवसायी (लेखन्दास) बाट लेखाइरहनु पर्ने झन्झट अन्त्य भएको छ ।

हरिवन नगरपालिकाले उजुरीको ‘फर्मम्याट’ (ढाँचा) तयार पारेर इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । चोरी, मानिस हराएको, मोवाइल हराएको, साइबर अपराध, ठगी, घाऊ जाँच, फेसबुक आइडी ह्याकभएको जस्ता उजुरीका लागि प्रहरी कार्यालयलाई उजुरीको ढाँचा तयार पारेर ठेली नै बुझाइएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले बताए ।

पीडितले उजुरी लेखाउन लेखन्दास खोज्दै हिँड्नुपर्ने र महँगो शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्न उजुरीका ढाँचा तयार पारेर छपाई गरी ठेली नै प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको नगरप्रमुख बुढाथोकीले बताए । उनका अनुसार प्रहरी कार्यालयबाट निःशुल्क रुपमा उजुरीको ‘फर्मम्याट’ भरेर कानूनी उपचारमा जान सकिने व्यवस्था मिलाइएको छ ।

कानून व्यवसायीसँग परामर्श गरी आफूहरुले तयार पारेको ‘फर्मम्याट’ को नमूना लिएर अन्य पालिकाहरुले पनि उजुरीको ‘फर्मम्याट’ छपाई गरी पालिकाभित्र पर्ने प्रहरी कार्यालयलाई प्रदान गर्न सक्ने हरिवन नगरपालिकाले जनाएको छ । उजुरी लेखाउनकै लागि पीडितले असाध्य सास्ती खेप्नु परेको गुनासोपछि हरिवन नगरपालिकाले पहिलो पटक यस्तो कदम चालेको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्रबिक्रम बर्तौलाले नगरपालिकाबाट विभिन्न घटनामा दिइने उजुरीको ढाँचा प्रदान भएसँगै सेवाग्राहीलाई सहज भएको बताए ।

कतिपय सेवाग्राही बुझ्दै नबुझी प्रहरी कार्यालयमा आउँदा सुरुमै उजुरी लेखाएर ल्याउने तर भाषा तथा प्रक्रिया नपुगेर दोहो¥याएर पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने नगरपालिकाले उजुरीको ‘फर्मम्याट’ नै छापेर दिएपछि सजिलो भएको इन्स्पेक्टर बर्तौलाको भनाइ छ ।