मदन नेपाल/लालबन्दी, २८ भदौ – लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित तरकारी बजार संचालनमा ल्याउन पहल थालिएको छ ।
तरकारी बजार र त्यसका संरचना २ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाले संचालनमा ल्याउन पहल थालिएको हो । तरकारी बजार राख्ने विषयमा हिजो शनिबार रानिगन्जका सरोकारवालाबिच र आज उद्योग वाणिज्य संघ लालबन्दीमा उद्योगी, व्यवसायी, तरकारी व्यापारी र अन्य सरोकारवालाबिच छलफल गरिएको हो ।
छलफलबाट ठोस निष्कर्ष ननिस्किए पनि बजार संचालनका विषयमा सकारात्मक कुरा उठेका सहभागीले बताएका छन् ।

छलफलमा लालबन्दी १७ का वडाध्यक्ष विष्णु अधिकारी, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतो, संघका पूर्व अध्यक्षहरु, लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियासहितको उपस्थिति रहेको थियो ।
लालबन्दीको थोक तरकारी बजार साँघुरो भएर राजमार्गसम्म नै बजार लाग्न थालेकाले विकल्पको रुपमा पनि अलपत्र अवस्थामा रहेको रानिगन्ज तरकारी बजार संचालनमा ल्याउन पहल थालिएको हो । लालबन्दी–१७ का वडाध्यक्ष विष्णु अधिकारीले रानिगन्जमा तत्कालै तरकारी बजार राख्न पहल भइरहेको जानकारी दिए ।
तरकारी बजार राख्न २ वर्षदेखि अलपत्र र गाईबस्तु बाध्ने तथा चराउने ठाउँ बनेको रानिगन्ज तरकारी बजार परिसर सरसफाईसमेत गरिसकिएको छ । गत वर्ष वडा कार्यालय, नगरपालिका, मधेश प्रदेश सरकार र संघीय सरकारको करिब १ करोड ९ लाख रुपैयाँ लागतमा महेन्द्र राजमार्ग छेउमा रानिगन्ज तरकारी बजार बनाइएको छ । देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर र ३६ वटा स्टलसहितको कृषि सेड तयार अवस्थामा रहेको छ ।

लालबन्दीमा अहिले लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर अगाडि साँघुरो स्थानमा संचालन हुँदै आएको लालबन्दी थोक तरकारी बजारको विकल्पका रूपमा रानिगन्जमा नयाँ बजार निर्माण गरिएको थियो । लालबन्दीको तरकारी बजार हाल १८ कठ्ठा क्षेत्रफलमा संचालन हुँदै आएको छ ।
रानिगन्जको तरकारी बजार किसानको माग अनुसार संचालनमा ल्याउन सके लालबन्दी नगरको पूर्वी भेग र छिमेकी पालिका ईश्वरपुर नगरपालिकाका किसानलाई पनि नजिकै तरकारी बिक्री गर्ने व्यवस्था मिल्थ्यो । तर लालबन्दी बजारमा अहिले तरकारी किनबेच गर्ने सिमित व्यापारीसहितका केही पक्ष भने रानिगन्ज तरकारी बजारमा जान असहमत रहेकाले समस्या रहेको बताइएको छ ।