logo
  • शुक्रबार, अशोज ३०, २०८३ / Friday, Oct, 16 ,2026

हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको ४ घन्टापछि उद्धार


  • उज्यालो अभियान

पिपरिया, २९ असोज – कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको अहिले राति सकुशल उद्धार भएको छ ।

पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ (कठीन प्रकारको उद्धार) तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरीले ‘रोप’ को माध्यमबाट उद्धार गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले अहिले राति उज्यालो अभियानसँग बताएका छन् ।

सुरक्षाकर्मी टावरमा चढेर युवतीलाई क्याराबिना र हार्नेस (सुरक्षा बेल्ट उपकरण) को सहायताले काँखमा हालेर बाँधेर तल झारिएको सशस्त्र प्रहरीका एसपी खत्रीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले परिवारका अनुसार युवतीको मानसिक सन्तुलन बिग्रिएको पाइएको बताए ।

घटनाको जानकारी आएपछि तत्कालै लाइन काटिएकाले अप्रिय घटना हुन पाएन् ।