सांकेतिक तस्बीर ।
लालबन्दी, २२ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–७, मरिण जाने बाटोमा रहेको कैलाश सप्लायर्समा चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
गत भदौ ४ गते राति उमाशंकर साहले संचालन गरेको पसलबाट १० लाख नगद चोरी भएको थियो । प्रहरीले सिसीटिभी फुटेजको अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न लालबन्दी नगरपालिका १४ नारायणखोलाका ३७ वर्षीय हिरालाल ब्लोन र नारायणखोलाकै ४४ वर्षीय चन्द्रे वाइवा पक्राउ गरेको हो ।
हिरालाललाई काठमाडौबाट पक्राउ गरेर ल्याइएको हो भने चन्द्रे गाउँमै पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका २३ बाट पक्राउ परेका हिरालालको साथबाट ५० हजार नगदसहित चोरी गर्दा लगाएको टि–सर्टधरी बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
हिरालाल र चन्द्रेलाई लालबन्दी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान जारी छ ।