४ छात्रालाई छात्रवृत्ति प्रदान

छात्रवृत्ति वितरणपछि सामुहिक तस्बिर खिचाइँदै । (तस्बीर : उज्यालो अभियान)

सन्जु कर्ण/हरिवन – स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले सर्लाहीको हरिवनमा शुक्रबार ४ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

प्रतिष्ठानले हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत् ४ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउनेमा कक्षा ११ तर्फ झरना खपांगी र अनिषा मगर तथा कक्षा १२ तर्फ आकृति कुशवार माझी र कविता बैठा रहेका छन् ।

प्रतिष्ठानले उनिहरुलाई वर्षभरीको शुल्क तिरी दिनुका साथै विद्यालय पोसाक र शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ । प्रतिष्ठानले यसरी प्रत्येक वर्ष विद्यालयका गरिब, दलित तथा जेहेन्दार छात्रालाई पोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रष्तिठानका अध्यक्ष विनोदकुमार कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित छात्रावृत्ति वितरण समारोहमा हरिवन नगरपालिका–८ का वडाअध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रज्वल ढुंगाना, पूर्व अध्यक्ष यज्ञविनोद ढुंगेल, समाजसेवी सुरेन्द्र लामा, चुडामणि वाग्ले, भरतकुमार कार्की, ईन्द्र पाठक, राजकुमार उप्रेती, सीताराम पोखरेल, बुक कुमारी थापा, आरती लामा, सुर्दशन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गिय रोनिश कार्की सोही विद्यालयका शिक्षक समेत रहेका राजन कार्कीको सूपुत्र थिए । रोनिशको २०७५ साल असार १७ गते सडक दुर्घटनामा परी ज्यान गएको थियो ।