हरिवनबाट सशस्त्रद्वारा २ लाख १० हजारको अवैध ड्यूसहित एउटा ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरीले बरामद गरेको ड्यू र ट्रक । (तस्बीर : उज्यालो अभियान)

नयाँरोड – सशस्त्र प्रहरीले शुक्रबार सर्लाहीको हरिवन नगरपालिकास्थित नयाँरोडबाट भारतीय ब्रान्डको १४८ कार्टुन ड्यू (चिसो पिय पदार्थ) बरामद गरेको छ ।

कुनै बिलबिजक नभएको भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणको ड्यू सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान ११ः३० बजेतिर पूर्व–पश्चिम राजमार्गस्थित नयाँरोड क्षेत्रबाट बरामद गरेको हो । १४८ कार्टुनमा १३ सय ३२ बोतल ड्यू रहेका छन् ।

सशस्त्रले भन्सार छलेर भित्याईएको ड्यू लोड भएको ना ५ ख ६४७२ नम्वरको ट्रक समेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको २ लाख १० हजार ४५६ रुपैयाँको ड्यू र ट्रकसहित १२ लाख १० हजार ४५६ रुपैयाँ मूल्य कामय गरी शुक्रबार नै भन्सार कार्यालय मलंगवामा बुझाइएको हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुशील श्रेष्ठले जानकारी दिए ।