सर्लाहीमा म्यादी प्रहरीका लागि ८ हजार ७५३ को आवेदन

स्थानीय तह निर्वाचनका बेला मलंगवामा भएको म्यादी प्रहरीको तालिम । (फाइल तस्बीर)

मलंगवा – सर्लाहीमा म्यादी प्रहरीका लागि ८ हजार ७ सय ५३ जनाको आवेदन परेको छ ।

आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार १६९ पुरुष र १ हजार ५८४ महिलाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रवीण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।

म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म मलंगवास्थित जिल्ला प्रहरी कार्यालय अगाडिको कबड हलमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ ।

जिल्लागत रुपमा कति म्यादी प्रहरी राख्ने ? भन्ने तय भइसकेको छैन् । एसपी पोखरेलका अनुसार सर्लाहीमा करिव ३ हजारजति म्यादी प्रहरी राखिने छ ।

त्यसमा पनि गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरी अनि पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिइने एसपी पोखरेलले बताए । स्थानीय चुनावमा सर्लाहीमा २ हजार ९३७ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहारसम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र राशन पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।