हरिपुर नगरपालिकाकाे भवन गुठीको जग्गामा बनाउन पहल

हरिपुर – सर्लाहीको हरिपुरमा गुठीको जग्गा भाडामा लिएर नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न पहल थालिएको छ ।

नगरप्रमुख गोपाल पंजियारको अध्यक्षतामा बसेको सर्वपक्षिय/सर्वदलिय बैठकले हरिपुर नगरपालिका-२, स्थित नवलपुर-मलंगवा सडकसँगै हरिपुर पुल्चोकपूर्वतर्फ राम जानकी मठको एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर नगरपालिकाको भवन निर्माण गर्ने निर्णय गरेको हो । गुठीको सो जग्गा अहिले स्थानीय एक सहकारीले वार्षिक रुपमा अत्यन्तै न्यून भाडा बुझाएर प्रयोग गर्दै आइरहेको छ ।

सो जग्गा नगरपालिका आफैले अलि धेरै वर्षसम्मका लागि भाडामा लिएर त्यहीँ प्रशासकीय भवन निर्माण गर्ने निर्णय भएको हरिपुर नगरपालिका-२, का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । गुठीको नियमानुसार जग्गा प्राप्ति गरी प्रशासकीय भवन निर्माणका लागि सहजीकरण गर्न नगरप्रमुख पंजियारकै संयोजकत्वमा सात सदस्यीय सर्वदलिय समिति गठन गरिएको छ ।

हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले गुठीको जग्गा रजिष्टर पास गरेर लिन नमिल्ने भएकाले गुठीलाई वार्षिक निश्चित भाडा दिएर नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न पहल अघि बढाइएको बताए । भुजेलका अनुसार प्रशासकीय भवनका लागि अन्यत्र पनि उपयुक्त जग्गाको समेत खोजी भइरहेको छ । हरिपुर नगरपालिका अहिले साबिक हरिपुर गाउँ विकास समिति (गाविस) को साँघुरो भवनबाट सञ्चालन भइरहेको छ ।