सर्लाहीमा पनि जितिया पर्वकाे राैनक

जब्दी – सर्लाहीमा शनिबार विभिन्न स्थानमा जितिया पर्वको अवसरमा झाँकीसहित साँस्कृतिक कार्यक्रमहरु भएका छन् ।

लालबन्दी नगरपालिका-३, जब्दीमा थारु समुदायले उल्लासपूर्ण किसिमले जितिया पर्व मनाएको स्थानीय आशनारायण चौधरीले जानकारी दिए । जब्दीस्थित वडा कार्यालयको परिसरमा नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा थारु समुदायले हर्षोल्लासपूर्वक जितिया महोत्सव मनाएका हुन् ।

वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा थारु समुदायको भेषभुषा झल्किने झाँकी समेत देखाइएको थियो । यसैगरी, ईश्वरपुर नगरपालिका-१४, हरकठवामा जितियापर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदानसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख मनोजकुमार आचार्यले व्यक्तिगततर्फबाट कार्यक्रम आयोजनाका लागि १० हजार रुपैयाँ सहयोग पनि गरेका छन् । जितियाका अवसरमा शनिबार सर्लाहीका अन्य विभिन्न स्थानमा हर्षाेल्लासपूर्वक जितिया पर्व मनाईएकाे छ ।

जितिया पर्वमा विशेषगरि आमाहरुले आफ्नाे परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि, सन्तानको दीर्घायुको कामना सहित व्रत बस्ने र पूजाआजा गर्ने गर्दछन् । थारु समुदायले विशेष रुपमा मनाउने याे पर्व पछिल्लाे समय मिथिला क्षेत्र सहित देशका अन्य भू-भागमा पनि व्यापक बन्दै गईरहेकाे छ ।