लालबन्दीमा रग्वी खेलको मधेश प्रदेशस्तरीय छनौट सुरु

लालबन्दी – पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सर्लाहीको लालबन्दीमा रग्वी खेलको मधेश प्रदेशस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।

लालबन्दी ६ स्थित खेल मैदानमा मंगलबारसम्म चल्ने खेलाडी छनौट प्रतियोगिताको आइतबार बिहान प्रदेशसभा सदस्य बेची लुंगेलीले उद्घाटन गरिन् । मधेश प्रदेशबाट पहिलो पटक रग्वी खेलमा खेलाडी पठाउन लागिएको र यस प्रतियोगिताबाट १२ जना पुरुष र १२ जना महिला गरी २४ खेलाडी छनौट गरिने सर्लाही रग्वी संघका अध्यक्ष रन्जित साहले जानकारी दिए ।

खेलाडी छनौट गरेर पोखरासम्म लगी प्रतिस्पर्धा गराउन मधेश प्रदेशबाट प्रशिक्षकमा बिक्रम भारती र व्यवस्थापकमा रन्जित साह तोकिएका छन् । यस्तै, लालबन्दीकै खेल मैदानमा सोमबारबाट फुटबलको मधेश प्रदेश स्तरीय फुटबलको पनि छनौट सुरु हुने छ ।