टिकट ´तानातान`मा कांग्रेस सहित सबै दलका नेताहरुकाे काठमाडौंमा ओईराे, सर्लाही नेताविहिन

काठमाडाैं – आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारकाे टिकट हात पार्न तथा समानुपातिक तर्फ नाम सिफारिस गराउनका लागि सर्लाहीबाट नेपाली कांग्रेस सहित प्रमुख दलका अधिकांश नेताहरुकाे काठमाडाैंमा ओईराे लागेकाे छ ।

पार्टीले टिकट वितरणको अन्तिम तयारी गरेपछि आकांक्षी र जिल्लाका शिर्ष नेता आफू र आफू निकटकालाई टिकट दिलाउन काठमाडौंस्थित शक्ति केन्द्र धाउन आएका हुन् । जिल्ला जिल्लाबाट आएका नेता कार्यकर्ताकाे भिड थेग्न हाेटल तथा लज व्यवसायीलाई हम्मे परेकाे छ । प्राय हाेटल र लज भरिभराउ छन् ।

सर्लाहीमा क्रियाशील प्रमुख पाँच राजनीतिक दलमध्ये कांग्रेसको दुवै समूहका नेताहरु केही दिनदेखि काठमाडौंमै छन् । संस्थापन पक्षका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, मधेश प्रदेश उपसभापति एवं प्रदेश मन्त्री वीरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय, जिल्ला उपसभापति डा. सराेज कुमार, सचिब निराेज कार्की लगायत नेताहरु विगत केही दिनदेखि काठमाडाैंमै छन् । सभापति सुरेन्द्र भने विश्वकर्मा पूजाका लागि शुक्रबार जिल्ला फर्किएपनि आईतबार पून: काठमाडाैं आउँदैछन् । त्यस्तै पूर्व सभापति नागेन्द्र भने आईतबार नै जिल्ला फर्किएका छन् । साेरसरादकाे तिथि परेकाले सर्लाही फर्किएका नागेन्द्र केही दिनमै पूनः काठमाडाैं आउने छन् ।

त्यस्तै संस्थापन ईतरका पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व सभापति लक्ष्मण राय, महाधिवेशन प्रतिनिधि विनाेद खनाल, क्षेत्रीय सभापति काैशल किशाेर राय, काशिनाथ अकेला, भिखारी राय, दिलिप राज भण्डारी, विष्णुमणि घिमिरे लगायत दुई दर्जन बढी नेताहरुकाे बास काठमाडाैं स्थित विभिन्न हाेटलमा छ । एक नेताका अनुसार अहिले सर्लाही कांग्रेसीहरुकाे दैनिकी भनेकाे स्वयं आफू वा आफू निकटका कार्यकर्तालाई उम्मेद्वारमा सुनिश्चित गराउन आ-आफ्नाे गुटका केन्द्रीय नेताहरुकाे घर-घर धाउने हाे ।

त्यस्तै नेकपा एमाले सर्लाहीका नेताहरु पनि टिकट लबिङका लागि काठमाडाैमै छन् । केन्द्रीय सदस्य कमला देवि महताे, केन्द्रीय सदस्य बद्री न्याैपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनाराय साह, हरि उप्रेती, गणेश प्रसाईंं, कल्पना कटुवाल, रेणुका पाैडेल लगायत सबै नेताहरु आफू वा आफ्ना निकटकालाई टिकट हत्याउन आफ्ना लबिङका केन्द्रीय नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।

त्यसैगरि नेकपा माओवादी केन्द्र, जसपा, लाेसपा, राप्रपा लगायत पार्टीका अधिकांश जिल्ला स्तरीय नेताहरु समेत काठमाडाैंमै आएका छन् । उनिहरु पनि आ-आफ्ना नेताहरुलाई भेटेर टिकटका लागि लबिङ गरिरहेका छन् ।

समानुपातिक उम्मेद्वारकाे शुचि असाेज ३ गते निर्वाचन आयाेगमा बुझाईसक्नु पर्ने भएकाले अहिले विशेषगरि समानुपातिक उम्मेद्वारमा पर्नका लागि तथा सत्ता गठबन्धन अन्तर्गत सबै पार्टीका जिल्लाबाट आएका नेता कार्यकर्ताहरुले निर्वाचन क्षेत्र आफ्नाे पार्टीकाे भागमा पार्नमै केन्द्रीय नेतृत्वलाई दबाव दिने गरेकाे एक कार्यकर्ताले बताए । प्रत्यक्षतर्फ भने असाेज २३ गते मात्र उम्मेद्वारी दर्ता हुने भएकाले अहिले समानुपातिक उम्मेद्वारमा पर्न र निर्वाचन क्षेत्र आफ्नाे पार्टीकाे भागमा पार्न नै जिल्लाका नेता कार्यकर्ताले केन्द्रीय नेताहरुसँग लबिङ गरिरहेका छन् ।