संविधान सभा सदस्य साहले गरे ईन्द्र जात्रा महोत्सवको उद्घाटन

पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उद्घाटन् गर्दै संविधान सभा सदस्य नरेन्द्र साह । (तस्बिर : उज्यालो अभियान)

घनश्याम बलम्पाकी/सोल्टी – सर्लाहीको शंकरपुर सोल्टीमा ४९ औं इन्द्र जात्रा मेला महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको औपचारिक रुपमा शुक्रवार राती सर्लाहीकै बरहथवा निवासी समाजसेवी एवम् संविधान सभा सदस्य नरेन्द्र साहले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजसेवी साहले आफु पदमा रहे पनि नरहेपनि समाज सेवाको काममा निरनतर लागि रहने प्रतिबद्धता समेत जनाए । उनले क्षेत्र भित्रका कसैलाइ केही समस्या परे आफूलाइ फोन गर्न अनुरोध समेत गरे । ‘मैले भ्याए जति सहयोग गर्नेछु कसैलाइ कहिले पनि निरास बनाउने छैन’, प्रमुख अतिथिको आशनबाट बोल्दै समाजसेवी साहले भने, ‘मैले आफ्नो ठाउँको बिकासका लागि हिजोका दिनमा पनि गरेकै हो, आजपनि गर्दै छु र भोलीपनि गरिरहन्छु ।’

यसअघि समाजसेवी एवं संविधान सभा सदस्य साह सहभागि हुने कार्यक्रममा उपस्थित नै हुन नखोज्ने बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको समेत साहको प्रमुख आतिथ्यता रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागिता रहेको थियो । यसअघिका वर्षहरुमा भने आयोजकले मेयर थापाबाटै महोत्सवको उद्घाटन गराउँदै आएका थिए ।

सोल्टी यूवा क्लवको आयोजना रहेको मेलामा प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, कुस्ती, बिभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ । सोमबार बिहानसम्म चल्ने मेलामा स्थानीय उत्पादनकासाथै विभिन्न व्यापारिक स्टलसमेत रहने महोत्सव आयोजक समितीले जनाएको छ । महोत्सवको विशेष आकर्षण मानिने खुल्ला डान्स प्रतियोगिता भने आईतबार रातभर चल्ने आयोजक समितिका अध्यक्ष टेक बहादुर बुर्जा मगरले जानकारी दिए ।

महोत्सव आयोजनाको लागि बागमती नगरपालीका, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोग रहेको आयोजकले जनाएको छ ।