सर्लाहीमा २२ सय नयाँ उद्योग थपिए

मलंगवा – सर्लाहीमा एक वर्षमा झण्डै बाइस सय नयाँ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १८७ वटा नयाँ उद्योग थपिएका हुन् । गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये एक हजार ५४१ वटा कृषिजन्य उद्योग मात्रै रहेका छन् ।

कृषिजन्य उद्योग अन्तर्गत कृषि, पशुपंक्षी, माछापालन, फलफूल तथा तरकारीलगायत उद्योग पर्ने घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिए । बाँकी ४१५ वटा सेवामूलक उद्योग र २३१ वटा उत्पादनमूलक उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा २४४ वटा बढी उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा सर्लाही जिल्लाभर एक हजार ९४३ घरेलु उद्योग दर्ता भएका थिए ।
जसमा कृषि तथा वनजन्य उद्योगतर्फ एक हजार ३२४, सेवामूलक उद्योगतर्फ ४३० र उत्पादनतर्फ १८९ उद्योग रहेका थिए ।

यस्तै, घरेलु कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा एक हजार ४५३ वाणिज्य फर्म दर्ता गरी एक करोड २४ लाख ३१ हजार ४५० रुपियाँ र दुई हजार १८७ उद्योग दर्ता गरी एक करोड १२ लाख २८ हजार ९०० रुपियाँ गरी जम्मा दुई करोड ३६ लाख ६० हजार ३५० रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख गुप्ताले बताए ।