शिक्षक लाइसेन्सको परीक्षा दिन १५ सय उम्मेदवार लालबन्दीमा

लालबन्दी – शिक्षक सेवा आयोगले आज (शनिबार) लिन लागेको निम्न माध्यमिक तह (निमावी) शिक्षकको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिन १५ सय बढी उम्मेदवार लालबन्दी आइपुगेका छन् ।

विभिन्न जिल्लाहरुबाट उम्मेदवारहरु परीक्षा दिनका लागि गएसाँझ नै लालबन्दी आइपुगेका हुन् । लालबन्दीका चारवटा क्याम्पसमा परीक्षा केन्द्र परेका छन् । जनज्योति मावि लालबन्दीमा क र ख गरी ५१२, जनज्योति बहुमुखी क्याम्पसमा पनि क र ख गरी ५१२, जानकी माविमा २५६ र नवलपुर माविमा २५६ जना गरी १५ सय ३६ जना उम्मेदवारको यहाँ सेन्टर परेको हो ।

अहिले बिहान ८ बजेबाट सुरु हुने परीक्षा १ घन्टाको हुने छ । परीक्षा दिन देशका विभिन्न ठाउँका उम्मेदवार गएरातीसम्म लालबन्दी आइपुगेका थिए ।

ठूलो संख्यामा आएका शिक्षक उम्मेदवारहरुले राती खान र बास बस्न होटलहरु नपाएको गुनासो आएको थियो ।