खानेपानीको चुनावमा यत्रो हानाथाप के–का लागि ? गाडीमा ‘आँखा’

अध्यक्षका उम्मेदवार क्रमश : योन्जन, श्रेष्ठ र पोखरेल ।

जनार्जन खत्री/लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न भोली (शनिबार) मतदान हुँदै छ ।

खानेपानीको निर्वाचन भएपनि आम निर्वाचनलाई नै बिर्साउने गरी प्रचारप्रचार भएको देखिन्छ । सांसद नै बन्न लागेको झैँ गरी किन यत्रो तडकभडकसहित चुनावी प्रचारप्रसारमा दलहरु लागेका हुन् ? भन्दै जनस्तरबाट चासो व्यक्त भइरहेको छ । यसअघि खानेपानीको नेतृत्व सहमतीमै छानिने गरेको भएपनि यो पटक भने चुनाव हुन लागेको हो ।

गत मंसिर/पुसदेखि नै खानेपानीको नेतृत्व छान्ने प्रयास भयो तर दलहरुबीच सहमती जुट्न सकेन् । जसले गर्दा अन्तिममा मतदान नै हुन लागेको हो ।

लालबन्दीको ११ वटा वडामा खानेपानी खुवाउँदै आएको यस संस्था अहिले पनि २१ करोड भन्दा बढी ऋण (नगर विकास कोषको ) मा छ । यतिधेरै ऋणमा रहेको खानेपानी संस्थाको नेतृत्व हत्याउन अहिले लालबन्दीमा क्रियाशील राजनीतिक दल पूरै शक्ति खर्चेर लागिपरेका छन् ।

लालबन्दी नगरपालिका–७, बजारका एक उपभोक्ता (नाम उल्लेख नगर्ने शर्तमा) ले खानेपानीको चुनावमा यत्रो तामझाम देख्दा अचम्मै लागेको बताए । “खानेपानी खुवाउने संस्थाको अध्यक्ष बन्न÷बनाउन यत्रो मरिहत्तै किन होला ! अचम्मित हुँदै ती उपभोक्ताले भने, “संस्थामा गाडी आएको छ भन्ने सुन्या हो, त्यसैको लागि त यत्रो गर्या होला नी ! होईन् भने त कुनै सेवा सुविधा नै नभएको संस्थामा चुनाव जित्न किन यत्रो मरिहत्ते गर्थे ”

अधिकांश उपभोक्ता उम्मेदवार र दलहरुको चुनावी भड्काउ देखेर यस्तै आश्चर्यचकित छन् । उम्मेदवारहरु जनप्रतिनिधि बन्न लागे झैँ घर–घरमा पुगेर मत मागिरहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन केही दिनदेखि प्रत्येक पार्टीका नेताहरु समेत भोकप्यास नभनी हिँडिरहेको देखिन्छ ।

संस्थामा खानेपानी वितरणमा सहयोग गरेको साना सहरी खानेपानी आयोजनाबाट भर्खरै एउटा नयाँ गाडी प्राप्त भएको छ । त्यही गाडीका लागि यत्रो मरिहत्ते भएको भन्ने तर्क गर्ने धेरै छन् । उपभोक्ताहरु भने खानेपानी वितरण प्रणालीको विकृति नियन्त्रण, कमि कमजोरी सुधार र संस्थामा पारदर्शिता हुनुपर्नेमा जोड दिइरहेका छन् ।

खानेपानीको अध्यक्षका लागि नेपाली कांग्रेसबाट इन्द्र योन्जन, माओवादी केन्द्रबाट हेमबहादुर श्रेष्ठ (श्याम) र स्वतन्त्रबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ । निर्वाचनमा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) सँग र नेकपा माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेका छन् । स्वतन्त्र भन्दै उम्मेदवारी दिएका पोखरेललाई एमाले र राप्रपाको साथ छ ।

निर्वाचन समितिले योन्जनलाई करुवा, श्रेष्ठलाई घर र पोखरेललाई चश्मा चुनाव चिन्ह दिएको छ । निर्वाचन समितिले बिहीबार राती १२ बजेबाट मौन अवधि सूरु भइसकेकाले चुनावी प्रचारप्रसार नगर्न सबैसँग आग्रह गरिसकेको छ ।

चुनावबारे के भन्छन् उम्मेदवार ?

अध्यक्षका तीनै जना उम्मेदवारले चुनावी प्रचार सामान्य रुपमै गरेको बताउँछन् । तर उनीहरु एकले अर्कालाई भने चुनाव जित्नकै लागि लाखौँ खर्चिएको आरोप लगाउँछन् । दल र उम्मेदवार दुवैले खानेपानीको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार रहेका इन्द्र योन्जन खानेपानीको निर्वाचनमा यत्रो विकृति भित्रिनु ठीक नभएको बताउँछन् । “यतिसम्म हुनु त विकृत हो, यस्तो हुनु हुँदैनथ्यो, तर अरु जस्तो मैले त खासै तामझाम गरेको छैन्,” योन्जनले भने, “मलाई कुनै लाभको आश छैन्, चुनाव जिते भने सेवा गर्न पाउँछु भन्ने लागेको छ ।”

कांग्रेसका उम्मेदवार योन्जन लालबन्दी ७ डुमडुमे मन्दिर नजिकै घर भएका स्थानीय हुन् । उनी २०७४ सालको निर्वाचनमा तत्कालिन माओवादीबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार थिए । पछि उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

जसपा र लोसपाको साथ पाएर माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका हेमबहादुर श्रेष्ठ (श्याम) खानेपानीको चुनावलाई हाउगुजी बनाइएको तर्क गर्छन् । “सामाजिक काम गर्नकै लागि यत्रो लाखौँ खर्च भएको देख्दा अच्चम लागेको छ, यसलाई अति नै हाउगुजी बनाइयो,” श्रेष्ठले भने । उनले लालबन्दीमा पुल, नाला, भवनजस्ता आयोजना पार्ने काम गरिसकेको र अब एक पटक खानेपानीको नेतृत्वमा पुगेर थप सामाजिक सेवा गर्ने अवसर खोजेका बताएका छन् । श्रेष्ठ लालबन्दी नगरपालिका–४, हरिभवन निवासी हुन् ।

खानेपानीको अध्यक्ष बन्न लालबन्दी ६ जनवादी चोक नजिकका देवनाथ पोखरेल अधिकृतबाट राजिनामा दिएर चुनावमा होमिएका छन् । पोखरेलले सूरुदेखि नै आफूलाई स्वतन्त्र भनी उभ्याए पनि एमाले र राप्रपाले उनलाई सहयोग गर्ने औपचारिक निर्णय गरेका छन् । एमालेले पोखरेललाई अध्यक्षको उम्मेदवार स्वीकार गर्दै अन्य पदमा उम्मेदवारी दिएको छ ।

एमाले नेताहरु पोखरेललाई मत माग्दै हिँडेका छन् । अध्यक्षका उम्मेदवार पोखरेल पनि अन्य उम्मेदवारजस्तो आफूले भड्काउलो गतिविधि र खर्च नगरेको दावी गर्छन् । “यसो गाउँघरमा दाजुभाईसँग भोट माग्न हिँडेको मात्रै हो, अरु जस्तो मैले तडकभडक गरेको छैन्,” पोखरेलले भने ।

उम्मेदवारले यसो भने पनि तीनवटै प्यानलले बिहीबार साँझसम्म प्रतिस्पर्धाकै रुपमा प्रचारप्रसार गरे । चुनावी प्रचारप्रसार र घरदैलो गर्न उम्मेदवारहरुको ठूलै रकम खर्च भएको स्रोत बताउँछ ।

भोली मतदानको तयारी कस्तो छ त ?

निर्वाचन समितिका संयोजक गोपाल थापा भोली हुने मतदानको तयारी लगभग पूरा भएको बताउँछन् । “हामी अन्तिम तयारीमा छौँ, लगभग काम सक्किसकेका छन्, आज मतदान अधिकृतहरुलाई तालिम पनि दियौँ, उहाँहरुले अब बाँकी कर्मचारीलाई सिकाउने काम गर्नुहुन्छ,” थापाले शुक्रबार अपरान्ह उज्यालो अभियानसँग भने, “मतदान केन्द्र तयार भइसकेको छ, मतपत्रसहित अन्य मतदान सामग्री लगभग तयार नै छन् ।”

ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले खानेपानीको निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकिएको बताए । मतदाताको संख्या धेरै रहेकाले इन्स्पेक्टर कार्की आफै मतदान केन्द्रको निरीक्षणसहित सुरक्षाको प्रवन्ध मिलाउन लागिपरेका छन् ।

लालबन्दी खानेपानीको नियमित महशुल तिरेका र ब्ल्याक लिष्टमा नपरेका ६ हजार ८ सय ३५ जना उपभोक्ता छन् । उनीहरु नै भोली हुने निर्वाचनको मतदाता हुन् ।

लालबन्दी नगरपालिकाको ११ वटा वडामा खानेपानी वितरण हुँदै आएको छ । निर्वाचन समितिले भोलीको निर्वाचनका लागि मतदानस्थल समेत तोकेको छ ।

वडा नं. ३, ४ र ५ का लागि शिशु कल्याण जनता मावि हरिभवन, वडा नं. ६, ७, ८ र ९ का लागि खानेपानीकै कार्यालय लालबन्दी ६ लेखाली चौर र वडा नं. १०, ११, १२ र १३ का लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन समितिका अनुसार भोली बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि सर्वदलिय बैठक राखेर भोली रातीदेखि नै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।