खडेरीले किसानको पुर्पूरोमा हात, गर्मीले आकूलब्याकूल

पानी नपर्दा धाजा फाटेको धान खेत ।

जनार्जन खत्री/ लालबन्दी – अहिले झमझम झरीपरी किसानलाई धान रोपाइँ गर्न भ्याननभ्याइ हुनुपर्ने बेला हो तर अवस्था त्यस्तो छैन् । खडेरी लाग्दा किसान पुर्पूरोमा हात लगाउँदै कहिले पानी पर्ला ! भनी आकाशतिर आँखा लगाइरहेका छन् ।

पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने रोपेको धान बाली सुकेर जान थालेको छ । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन् । असार दोस्रो साता दुई दिन सामान्य झरी परेपनि त्यसपछि पानी पर्नै सकेको छैन् ।

आजबाट साउन पनि सुरु भयो तर बाहिरको मौसम हेर्दा चैत, बैशाख लागेजस्तो दृश्य देखिन्छ । मध्य असारमा सामान्य झरी पर्दा हतारहतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाजा फाटेर भर्खरै रोपेको रोपो सुक्न थालेपछि चिन्तित भएका छन् । सिँचाई सुविधा नभएको क्षेत्रका केही किसानले महँगो मूल्यको इन्धन खर्चेर पप्पसेटमार्फत सिँचाई गरी रोपाइँ गर्ने र धान खेतमा पानी पटाउने काम गरिरहेका छन् ।

जिल्लाको हरिपूर्वा नगरपालिका–९, बसन्तपुरका किसान रामकेवल रायले वर्षा नहुँदा खेतमा धाजा फाटेर धान सुक्न थालिसकेको गुनासो गरे । “यो वर्ष त हामी किसान बर्बादीमै पर्यौ, पानी नपर्दा महँगीको मल र जन लगाएर रापेको धान सुकेर गयो,” रायले निराश हुँदै उज्यालो अभियानसँग भने, “पानी पर्ला भनेर आकाशतिर हेर्दा हेर्दै असार पनि गयो ।”

टन्टलापुर घाम लाग्दा सुनसान देखिएको लालबन्दी बजार ।

यस्तै, ईश्वररपुर नगरपालिका–१२, कालिन्जोरका किसान सीताराम थापाको पनि गुनासो उस्तै छ । “यो वर्ष त अच्चम्मै भयो, असारमा पनि पानी पर्न सकेन, चैतमासको जस्तो खडेरी पो गयो,” थापाले भने, “त्यत्रो मलखाद र जन लगाएर रोपेको रोपो खेत नै पटपट फुटेर सुकेर गयो, हामी किसानमाथि भगवानको पनि किन यत्रो अन्याय ! अब पनि पानी परेन भने त यो रापेको धान कामै छैन्, फेरि धान रोप्न पनि बिच्छन (बीउ) छैन् ।

गर्मी छल्न चौतारीको छहारीमा बसेका सर्वसाधारण ।

लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले पानी नपर्दा असार, साउनमै सुक्खा लागेको बताए । सिँचाई सुविधा नरहेको आफ्नो क्षेत्रका किसान आकाशे वर्षाको प्रतिक्षामा बसेका बलले सुनाए ।

पानी नपरेकै कारण असार सक्किनै लाग्दा पनि आधा भन्दा धेरै किसानले रोपाइँ गर्न पाएका छैनन् । जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पानी पर्न रोकिएपछि धान रोपाइँ ठप्प जस्तै भएको र रोपाइँ भइसकेको धान खेतमा समेत धाजा फाटेको बताए ।

कार्यालयका अनुसार सर्लाहीमा असार सक्किँदासम्म ४५ देखि ५० प्रतिसतको हाराहारीमा मात्रै धान रोपाइँ भएको छ । “पानी पर्न छाडेपछि रोपाइँले गति नै लिन सकेन, रोपिसकेको धान खेतमा पनि धाजा फाटेको छ,” कार्यालय प्रमुख कुशवाहाले उज्यालोसँग भने । कुशवाहाले रोपाइँ गर्न ढिलो भएर धेरै किसानले राखेको बीउ पनि बुढो भइसकेको बताए ।

पानी नपर्दा धान चमारा आएर सुत्ला च्याप्ने बेला भएको मकै बाली पनि सुक्न थालेको किसानले गुनासो गरेका छन् । खडेरीले धान र मकै दुवै बाली सुक्न थालेपछि किसान निराश छन् ।

यस्तै, खडेरीसँगै तराई क्षेत्रमा गर्मी पनि अत्यधिक छ । दिनभर टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भइ मानिसहरु छट्पटिने गरेका छन् । यही गर्मीमा जिल्लामा विद्यूत् पनि नियमित छैन् ।
गर्मीले गर्दा बालबालिकालाई विद्यालय पुग्न गाह्रो छ । मजदुर र किसानलाई दैनिक कामकाजमा निस्कन सकस परिरहेको छ ।

यस क्षेत्रमा बिहान उज्यालो हुँदादेखि साँझसम्म नै टन्टलापुर घाम लागेर गर्मी हुने गरेको छ । टन्टलापुुर घाम र तातो हावाले मानिसहरु घर बाहिर निस्कनै सकेका छैनन् । मध्यान्हपख बजार र सडक सुनसान जस्तै देखिन्छन् ।

गर्मी छल्न पौडी खेल्दै गरेका बालबालिका ।

चिकित्सकहरुले अत्यधिक गर्मी भइरहेको अहिलेको समयमा पर्याप्त पानी पिउन र स्वच्छ तथा ताजा खानेकुरामात्रै खान सुझाव दिएका छन् । गर्मीले गर्दा अहिले शरीर कमजोर भएको हुन्छ ।

“अत्यधिक गर्मीले गर्दा गर्मीजन्य संक्रमणका बिरामी बढेका छन्, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, रुघाखोकी, ज्वरोलगायत सङ्क्रमण बिरामीको चाप बढ्दो छ,” सदरमुकाम मलंगवा निवासी डाक्टर गुणेश्वर झाले भने “गर्मीले गर्दा अत्यधिक पसिना जाने भएकाले यस्तो बेला पर्याप्त पानी पिउनुपर्छ र शरीरलाई शक्ति दिन ताजा र स्वच्छ खानेकुरा बढी खानुपर्छ ।”