लालबन्दी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहमती जुटेन

उद्योग वाणिज्य संघ लालबन्दीको नवनिर्मित भवन ।

लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयन प्रक्रिया तत्काका लागि स्थगित गरिएको छ ।

संघको ८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । उद्घाटन सत्र समापन भएपछि सुरु भएको बन्दसत्रमा नयाँ नेतृत्वका लागि ३ वटा बेग्लाबेग्लै प्यानलले नामावली दिएपछि सहमती जुट्न नसकेको हो ।

नेतृत्वको आकांक्षी ३ वटै प्यानलको नामावली निर्वाचन समितिले गोप्य राखेको छ । निर्वाचन समितिका संयोजक एवं पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानले अझै पनि सर्वसहमतीको प्रयास गरिने र अन्तिमसम्म पनि सहमती जुट्न नसके मतदानमातर्फत नयाँ नेतृत्व छानिने उज्यालो अभियानसँग बताए ।

यस्तै, साधारण सभाकै अवसरमा उद्योग वाणिज्य संघ लालबन्दीको नवनिर्मित ३ तले भवनको समेत आइतबार नै उद्घाटन गरिएको थियो । एक करोड ४४ लाखको स्टिमेट अनुसार आधुनिक किसिमको भवन निर्माण गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका वर्तमान अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

उद्योग वाणिज्य संघमा लालबन्दीका १२ सय भन्दा बढी उद्योगी, व्यापारीहरु आवद्ध छन् ।