लालबन्दी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका कारण देशमा महँगी बढेको बताएका छन् ।
सर्लाहीमा आइतबार उद्योग वाणिज्य सङ्घ लालबन्दीको आठौँ वार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अधिकांश वस्तु आयात हुने दुई मुलुकबीच द्वन्द्व बढ्दा यहाँका नागरिक मङ्गीको चपेटामा परेको बताएका हुन् । रुस–युक्रेन द्वन्द्वले मुलुकको अर्थतन्त्रमा अहिले गम्भीर धक्का पुगिरहेको उनको भनाइ छ ।
अध्यक्ष गोल्छाले खस्कँदो अर्थतन्त्रलाई उकास्न विदेशी पर्यटकलाई बढीभन्दा बढी देशमा भित्र्याउने र नेपाली दाजुभाइले विदेशमा दुःख गरेर पठाएको पैसा ९रेमिट्यान्स० को सही सदुपयोग गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए। नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले पनि जटिल अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गोल्छाको भनाइ छ ।
मुलुकलाई समृद्ध बनाउने कुरामा निजी क्षेत्र जिम्मेवार रहेको उल्लेख गर्दै उनले सरकारले पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । साधारण सभा उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी लगायतले मन्तव्य राखे ।
साधारण सभाबाट उद्योग वाणिज्य सङ्घ लालबन्दीको नयाँ नेतृत्व चयन गरिने वर्तमान अध्यक्ष कल्याणकुमार जोशीले जानकारी दिए । साधारण सभा उदघाटनकै अवसर पारेर नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गोल्छाले आइतबार नै उद्योग वाणिज्य सङ्घ लालबन्दीको नवनिर्मित भवनको उदघाटन गरेका छन् ।
एक करोड ४४ लाख रुपैयाँ लागतमा तीनतले आधुनिक भवन निर्माण गरिएको हो । कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको छ ।
— गोरखापत्र अनलाईनबाट साभार