सर्लाहीमा १५ पालिकाले आज बजेट ल्याए, धनकौल र विष्णुको सभा हुन सकेन (तस्बिरहरु)

लालबन्दी – सर्लाहीका १५ वटा पालिकाले शुक्रबार आ–आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

२० वटा पालिकामध्ये शुक्रबार १५ वटा पालिकाले एकैसाथ आ–आफ्नो सभामा बजेट ल्याएका हुन् । जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपूर्वा, मलंगवा, गोडैता, बलरा र बरहथवा नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

त्यसैगरी, चन्द्रनगर, ब्रम्हपुरी, चक्रघट्टा, बसबरिया, कौडेना र रामनगर गाउँपालिको पनि शुक्रबार नै बजेट प्रस्तुत गरेका छन् । यसैबीच, धनकौल गाउँपालिका र विष्णु गाउँपालिकाले आज गाउँसभा गर्न सकेनन ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै पालिकाले असार १० गतेभित्र आ–आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, सर्लाहीको यि दुई पालिकाले भने असार १० गतेभित्र गाउँसभामा बजेट पेस गर्न असफल भएका हुन् ।

विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले शुक्रबार साँझ उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा एक साताभित्रै गाउँसभा गर्ने बताए । उनले आफ्नो काम गर्ने शैली नै फरक रहेकाले हचुवाको भरमा नभई सुझबुझ किसिमले बजेट ल्याउने तर्क गरे ।

यसबीचमा आफू प्रदेश र संघीय सरकारको विभिन्न कार्यक्रममा सहभागी हुन गएकाले ब्यस्त भएको गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।

यस्तै, जिल्लाको धनकौल गाउँपालिकाले भने असार १३ गते गाउँसभा गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रामआश्रय साहले वडा नं. २ का वडाध्यक्ष रामबहादुर सहनी बिरामी भई उपचार गर्न काठमाण्डौंं गएको र वडा नं. ७ का वडाध्यक्ष रामलखन राय केही दिनदेखि आफन्तको विवाहमा सरिक हुन गएकाले बेलैमा गाउँसभा गर्न नसकिएको उज्यालोका समाचार प्रमुख खत्रीसँग नै बताएका छन् ।

जिल्लाको हरिपुर नगरपालिका, कविलासी नगरपालिका र पर्सा गाउँपालिकाले भने बिहीबार नै नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए ।