हरिपुर नगरपालिकाको दशौं नगरसभा आज, नगरपालिका र वडा कार्यालयमा बिदा

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाले आज (बिहीबार) दशौं नगरसभा प्रारम्भ गर्दै छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर सभा प्रारम्भ गर्न लागिएको नगरपालिकाका सूचना अधिकारी रुपलाल देवकोटाले जानकारी दिए । कानुनत् स्थानीय तहहरुले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्ने व्यवस्था छ ।

सोही बमोजिम हरिपुर नगरपालिकाले एक दिनअघि नै नगर सभा गर्न लागेको हो । जिल्लाका अन्य पालिकाहरुले भने भोली गाउँ तथा नगर सभा सुरु गर्ने तयारी गरिरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।

नगरसभा प्रारम्भको दिन आज हरिपुर नगरपालिकामा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा बिदा दिइएको छ । नगरप्रमुख गोपाल पंजियारले जनप्रतिनिधि र कर्मचारीहरु सबै नगरसभामा ब्यस्त रहने भएकाले आज एक दिनका लागि नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा सार्वजनिक विदा दिइएको बताए ।