हरिवनको मुस्लिम टोलमा दुई समूहबीच झडप, ९ जना घाइते

झडप प्रतिकात्मक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, बालगंगास्थित मुस्लिमटोलमा गएराती दुई समूहबीच झडप हुँदा ९ जना घाइते भएका छन् ।

एक घरको छानोबाट अर्को घरको आँगनमा वर्षातको पानी झरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । तर, स्रोतका अनुसार घटनालाई राजनीतिक रंग दिइएको छ । राजनीति जोडिँदा झडपको स्थिति सिर्जना भएको बुझिएको छ ।

झडपमा घाइते भएका ९ जनाको हरिवनमा रहेको नमूना अस्पताल र स्वाभिमान अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाइतेहरु ३५ वर्षीय शेष नसरुल, ४० वर्षीय मोझकर कमाल अम्जदी, २० वर्षीय शेष सदरुल, १९ वर्षीया नुर्सावा खातुन र २० वर्षीय राजिव सेखको नमूना अस्पतालमा उपचार चलिरहेको छ ।

त्यसैगरी, अन्य घाइतेहरु २३ वर्षीय अहमद जान, २६ वर्षीय अजाहर अनुज, ३० वर्षीय शेख महबुब र ३४ वर्षीय अकसथार शेखको स्वाभिमान अस्पतालमा उपचार चलिरहेको छ । प्रहरीका अनुसार झडपमा परेर घाइते भएकाहरुलाई उद्धार गर्न पुगेको प्रदेश–२–०२–००१ च ००१० नम्वरको नयाँ पुस्ता विकास समाज नवलपुरको एम्बुलेन्समा तोडफोड समेत भएको छ । ढुगामुढा गर्दा एम्बुलेन्सको अगाडि र बायाँ साईडको सिसा फुटेको छ ।

झडप सुरु हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । झडपको घटनापछि मध्यरातमा एक समूहले दुई, अढाई घण्टा भन्दा बढी समय पूर्व–पश्चिम राजमार्गमा चक्काजाम समेत गरेको थियो ।

प्रहरीले घटनाका मुख्य दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएपछि राजमार्गको चक्काजाम खुलेको थियो । हरिवन प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।