सर्वपक्षिय बैठक राखेर हरिवनका मेयर बुढाथोकीले मागे सुझाव

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले आगामी नगर सभामा पेश गर्नुपर्ने नीति तथा कार्यक्रमबारे नगरका क्रियाशील प्रमुख राजनीतिक दलका नेताहरुसँग मंगलबार छलफल गरेका छन् ।

नगरप्रमुख बुढाथोकीले आफ्नै कार्यकक्षमा सर्वदलिय बैठक राखेर सुझाव मागेका हुन् । छलफलमा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीसहित नगरका क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चालगायत पार्टीका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

सहभागीहरुले नगरप्रमुख बुढाथोकीलाई पनि हरिवनको विकासबारेको योजना सुनाउन भने । नगरप्रमुख बुढाथोकीले नागरिकको आवश्यकता अनुसार प्राथमिकिकरणको आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाले असार १० गते नगर सभा प्रारम्भ गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको छ । सर्वदलिय छलफलमा उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।