जुटपानीमा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ३ खेलाडी छनौट

नवलपुर – आगामी मंसिरमा हुने राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सर्लाहीको जुटपानीमा मधेश प्रदेशभरीबाटै ३ जना खेलाडी छनौट गरिएको छ ।

आइतबार र सोमबार प्रदेशभरका आठै जिल्लाका खेलाडीबीच दुई दिन आन्तरिक प्रतिस्पर्धा गराई १८ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि उत्कृष्ट ३ जना खेलाडी छनौट गरिएको हो । जसमा बेष्ट बलरतर्फ विनोद खड्का, बेष्ट ब्याट्सम्यानतर्फ परिमार्जन राय र म्यान अफ दी सिरिज बन्दै अभय यादव छनौट भएका छन् ।

जुटपानीस्थित नवजीवन विद्याश्रम माध्यमिक विद्यालयमा भएको खेलाडी छनौट प्रतियोगिताको जुटपानी युवा क्लबका अध्यक्ष इरफान अन्सारीको अध्यक्षता, मदन भण्डारी स्पोर्टस् एकेडेमीका क्रिकेट विभाग प्रमुख एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको प्रमुख आतिथ्यता र मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य प्रभुनारायण शिवाकोटी (श्याम) को विशिष्ट आतिथ्यतामा समापन गरिएको हो ।