सर्लाही जिसस प्रमुखमा कांग्रेसका सिंह र उपप्रमुखमा माओवादीका महताे निर्विरोध

जिसस प्रमुखमा निर्वाचित काैशल किशाेर सिंह (बायाँ) र उपप्रमुखमा निर्वाचित जीतेन्द्र कुमार महताे । (दायाँ)

मलंगवा – जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ताको समय छुट्याइएको थियो । उक्त समयभित्र कांग्रेस-माओवादी गठवन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जीतेन्द्र कुमार महताेकाे मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएका हुन् ।

बलरा नगरपालिका–१, हथियौल निवासी सिंह वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट बलराको नगरप्रमुखमा पराजित भएका थिए । पछि कार्यपालिका निर्वाचनमा माओवादीसँगकै तालमेलमा सिंह कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको प्रमुखसहित उपप्रमुख र बाँकी सात जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसले प्रमुखसहित छ जना सदस्य र माओवादीले उपप्रमुखसहित एक जना सदस्य भागबण्डा मिलाएर जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका थिए । जसअनुसार उपप्रमुखमा माओवादी केन्द्रबाट मलङ्गवा नगरपालिका–८, का जीतेन्द्र कुमार महतो निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यहरुमा कांग्रेसबाट लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, हरिपुर नगरपालिका–५, का अलाउँदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिला कुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, ईश्वरपुर नगरपालिका–१५, की पासवती देवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएक छन् ।

त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएक छन् । जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस एक्लैलाई बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो । पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जिल्ला समन्वय समितिका मतदाता हुन्छन् । जिल्लामा २० पालिकामा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ४० जना मतदाता रहेका छन् । जसमा कांग्रेस एक्लैसँग १२ पालिका प्रमुख र ११ पालिकाको उपप्रमुखसहित २३ मत रहेको छ ।

त्यस्तै, माओवादी केन्द्रसँग चार पालिका प्रमुख र उपप्रमुखसहित आठ मत रहेको छ । जनता समाजवादी पार्टी (जसपा) सँग दुई पालिका प्रमुख र उप्रमुखसहित चार मत रहेको छ । नेकपा एमालेसँग एक पालिका प्रमुख र दुई पालिका उपप्रमुखसहित तीन मत रहेको छ । सबैभन्दा कम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक पालिका प्रमुख र उपप्रमुख गरी दुई मत रहेको छ । शुक्रबार उम्मेदवारी दर्ता गर्दा निर्विरोध निर्वाचित भएपनि आधिकारिक रुपमा प्रमाण–पत्र भने पर्सी असार ५ गते आईतबार मात्रै वितरण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।