सर्लाहीमा संघीय सरकारबाट कुन पालिकालाई कति बजेट ?

लालबन्दी – संघीय सरकारले सर्लाहीका २० वटा स्थानीय तहलाई सबा ७ अर्ब बराबरको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेका आर्थिक वर्ष २०७९÷०८० को बजेटमा सर्लाहीका लागि ७ अर्ब १८ करोड १५ लाख रुपैयाँ बजेट विनियोजना गरिएको हो । जिल्लाका २० पालिकामध्ये सबैभन्दा धेरै बजेट लालबन्दी नगरपालिकाले पाएको छ । लालबन्दीका लागि ६४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

लालबन्दीपछि हरिवन नगरपालिकाले ५७ करोड ७७ लाख बजेट पाएको छ । यसैगरी, ईश्वरपुर नगरपालिकाका लागि ४७ करोड ३९ लाख, बरहथवा नगरपालिकाका लागि ४७ करोड २५ लाख, गोडैता नगरपालिकाका लागि ४५ करोड ३२ लाख, मलंगवा नगरपालिकाका लागि ४३ करोड ८१ लाख, बलरा नगरपालिकाका लागि ४० करोड ७९ लाख, बागमती नगरपालिकाका लागि ३८ करोड ४२ लाख, कविलासी नगरपालिकाका लागि ३७ करोड २९ लाख, हरिपुर नगरपालिकाका लागि ३२ करोड ४२ लाख र हरिपूर्वा नगरपालिकाका लागि ३१ करोड ३२ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् ।

त्यस्तै, जिल्लामा ९ वटा गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट विष्णु गाउँपालिका र सबैभन्दा कम बजेट पर्सा गाउँपालिकाले पाएका छन् । विष्णु गाउँपालिकाले ३० करोड ६२ लाख, कौडेना गाउँपालिकाले २९ करोड ६४ लाख, ब्रम्हपुरी गाउँपालिकाले २९ करोड ४१ लाख, चन्द्रनगर गाउँपालिकाले २६ करोड ७० लाख, बसबरिया गाउँपालिकाले २५ करोड ५० लाख, चक्रघट्टा गाउँपालिकाले २३ करोड ३६ लाख, रामनगर गाउँपालिकाले २३ करोड ३१ लाख, धनकौल गाउँपालिकाले २३ करोड ४ लाख र पर्सा गाउँपालिकाले २० करोड ७५ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् ।

संघीय सरकारपछि अब प्रदेश सरकारले आगामी असार १० गते आ–आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् । त्यसपछि असार १५ गते पालिकाहरुले आ–आफ्नो गाउँ तथा नगरसभामा पालिकाको बजेट ल्याउने छन् । पालिकाहरुले संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा आन्तरिक आम्दानी समेतको आंकलन गरी बजेट ल्याउने छन् ।