हरिवन ७ मा पुनः मतगणनाका लागि अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत जनकपुरले सर्लाहीको हरिवन नगरपालिका–७, मा तत्काल पुनः मतगणना गर्नु नपर्ने आदेश दिएको छ । अदालतले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हरिवन नगरपालिका–७, मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार अशोक थापाको पक्षमा ३७८ र विपक्षी अर्थात् नेकपा एमालेका निरध्वज कार्कीको पक्षमा ३७९ मत आएको भनि निर्वाचन आयोगले घोषणा गरेको कार्य त्रुटिपूर्ण रहेको हुँदा एमालेका कार्कीलाई वडाध्यक्षका रुपमा निर्वाचित गर्ने कार्य वदर गरी पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन परेको थियो । अदालतले निर्वाचन आयोगद्वारा एक मतको मतान्तरले कार्की वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा भएको र निर्वाचित वडाध्यक्षलाई पदअनुसार काम गर्न रोक्दा त्यसबाट आम नागरिक र सरोकारवालाहरुले वडाध्यक्षबाट लिनुपर्ने सेवाहरुबाट बञ्चित हुनुपर्ने अवस्था श्रृजना हुन जाने भएकाले अन्तरिम आदेश दिन नमिल्ने उल्लेख गरेको छ । अदालतले मुद्दाकाे अन्तिम किनारा लाग्दा टुंगिने विषय भएकाले तत्काल निर्वाचित घाेषणा भएका वडाध्यक्षलाई जिम्मेवारी बहन गर्नबाट राेक्न नमिल्ने अदालतकाे आदेशमा भनिएकाे छ । कांग्रेसले आफ्ना उम्मेद्वार एक मतले मात्रै पराजित भएपछि मतपरिणाम घोषणा हुनासाथ नेपाली कांग्रेसले हरिवनस्थित मतणनास्थल इलाका प्रशासन कार्यालय अगाडि नाराबाजीसहित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम समेत गरेको थियो ।